नेप्सेमा दुई दिन लगातार सुधार
काठमाडौं, ८ चैत्र । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार बजारमा दोहोरो अंकको बढोत्तरी देखिएको छ । नेप्से परिसूचक १६.०४ अंकले बढेर २६५०.७० को विन्दूमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।
गत हप्तादेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक हिजो सोमबारबाट भने बढ्न थालेको हो । २६०० को विन्दूमा टेवा पाएपछि बजारले उकालो यात्रा तय गरेको देखिन्छ । दुई कारोबार दिनमा परिसूचक ३०.९८ अंक उक्लिएको छ ।
बजार बढ्दा अघिल्लो दिन बढेको कारोबार रकम मंगलबार भने १ करोड २६ लाख ७९ हजार रुपैयाँले घटेको छ । मंगलबार कारोबार अवधिभर २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १ सय ७८ रुपैयाँ बराबरको ५३ लाख २९ हजार ९९३ कित्ता शेयर ३६ हजार ७७२ पटक खरिद बिक्री भएका स्टक एक्सचेञ्जको तत्थ्यांकमा उल्लेख छ ।
कारोबार रकम हेर्दा दिनभर सर्वाधिक किनबेच भएको प्रभु इन्स्योरेन्सको संस्थापकतर्फको शेयर रह्यो । १५ करोड ३३ लाख रुपैयाँ बराबरको प्रभु इन्स्योरेन्सको संस्थापकतर्फको शेयर कारोबार भएको छ ।