निगम र आईओसी बीचको सम्झौता सकिंदै
काठमाडौं, ८ चैत्र । नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशन (आईओसी) बीचको सम्झौता यसै महिना सकिदै छ । सम्झौता नविकरणको लागि भारतीय टोली काठमाडौं आइसकेको छ ।
सन २०१७ मा गरिएको सम्झौता सकिएपछि नेपालले आईओसी मात्रै नभएर अन्य भारतीय कम्पनी र अन्य देशबाट समेत इन्धन ल्याउन पाउने गरि सम्झौता पुनरावलोकनसहित नविकरणको प्रस्ताव गर्ने तयारीमा छ । तर नेपालले भने पुरानै सम्झौतालाई हुबहु नविकरण गर्ने तयारी गरिरहेको निगमले जनाएको छ ।
आज मंगलवारदेखि बिहीवारसम्म निगम र आईओसीका प्रतिनिधि बीच छलफल हुनेछ । त्यसपछि मात्रै सम्झौता हुने निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् । उनका अनुसार निगम र आइओसी बीच करीब – करीब पुरानै सम्झौतालाई निरन्तरता दिनेगरी सम्झौता नविकरण गर्ने तयारी छ ।
निगमले कर्मचारीहरूको पोशाक भत्ता र व्यवसायीहरूले पाउने कमिशनमा कटौती गरेर खर्च घटाउने रणनीति लिइसकेको छ । यहि बेला आईओसीसँग सम्झौता नविकरण गर्ने अवसर आएकोले उसले पाउने कमिशन कम गर्न आग्रह गर्नुपर्ने व्यवसायीहरूको भनाइ छ ।
यसैबीच, निगमले चालू आर्थिक वर्षको फेब्रुअरीसम्म ५ अर्ब ५३ करोड रुपैयाँ कमिशन आईओसीलाई तिरेको छ । यो अवधिमा १ खर्ब ५८ अर्ब रुपैयाँ कमिशनसहित आईओसीलाई भुक्तानी गरिएको निगमले जानकारी दिएको छ । गत आर्थिक वर्ष २०७७÷०७८ मा आईओसीलाई कुल १ खर्ब ५९ अर्ब रुपैयाँ भुक्तानी गरेको निगमले सर्भिस चार्जका नाममा ५ अर्ब ५६ करोड रुपैयाँ भुक्तानी गरेको थियो ।
निगम र आईओसी बीच सन् २०१७ मा भएको सम्झौता अनुसार निगमले आईओसीबाट मात्रै इन्धन खरिद गर्दै आएको छ । संयुक्त अरब इमिरट्स (दुबै) बाट तयारी इन्धन आयात गरी नेपाललाई बेच्दै आएको आईओसीले साढे ३ प्रतिशत सर्भिस चार्जका नाममा कमिशन लिने गरेको छ ।
निगमले फागुन महीनसम्म आफ्नो घाटा २८ अर्ब रुपैयाँ पुगेको जानकारी यसअघि नै गराइसकेको छ । यस्तो अवस्थामा आईओसीले लिँदै आएको सर्भिस चार्जमा पनि कटौतीका लागि प्रस्ताव गर्नसक्ने विकल्पसँगै अवसर समेत निगमलाई रहेको छ ।
पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका अध्यक्ष लिलेन्द्र प्रधान आईओसी र निगमबीच हुन लागेको नयाँ सम्झौताका क्रममा कमिशन कटौतीको प्रस्ताव गर्नसक्ने विकल्प निगमसँग रहेको बताउँछन् ।विक्रेताको कमिशन आफूहरुलाई जानकारी नगराईकनै कतौटी गरेकोप्रति आक्रोसित प्रधान आईओसीले लिने कमिशन कटौतीका बारेमा प्रस्ताव गर्नसक्ने क्षमता निगमसँग नरहेको बताउँछन् ।