मौलिक खाना प्रवद्र्धन गर्न खाद्य मेला
काठमाडौं, २८ मंसिर । काठमाडौं महानगरपालिकाले रैथाने मौलिक खानाहरुको प्रवद्र्धनका लागि मेला आयोजना गरेको छ । महानगरले आईतवार नक्शालको नारायण चौरमा रैथाने मौलिक खाद्य मेला, २०८२ आयोजना गरेको हो ।
स्थानीय खानाहरुको प्रवद्र्धन र बजारीकरण गर्न सहयोग गर्ने उद्देश्यले मेला आयोजना गरिएको काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन् । उनकाअनुसार महानगरले परम्परागत रैथाने खाना र खाद्य सामग्रीहरुलाई बजारीकरण गर्नको लागि गतवर्षदेखि मेला गर्दै आएको छ ।
महानगरले बजार अनुगमनको क्रममा धेरैले खाद्य सुरक्षाको मापदण्डको पालना गरेको नपाइएकाले गतवर्ष फुड हाईजिन एण्ड सेफ्टीको बुटक्याम्प नै आयोजना गरेको उनले बताइन् । साना व्यवसायीहरुलाई महानगरले फुड हाईजिन र सेफ्टीको तालिम दिएर उनीहरुले उत्पादन गरेका रैथाने खानाहरुलाई पनि प्रवद्र्धन गर्न सहयोग गरेको उनको भनाई छ ।
तालिमपश्चात व्यवसायीहरुको चाहनाअनुसार नै खाद्य मेला आयोजना गरेको उनले जानकारी दिइन । मेलामा रैथाने खाद्यवस्तुको किनमेलका साथै जानकारी पनि लिन सकिने उनले बताइन्। गतवर्ष दरबार हाई स्कुलमा खाद्य मेला भएको थियो ।
मेलाका धेरै स्टलहरुमा खानको लागि तयार पारिएका खाद्यवस्तु राखिएका छन् भने खाद्यवस्तु विक्री वितरणको लागि पनि राखिएका छन् । मेलामा रैथाने नेवारी परिकार योमरी, चीज, बारा, मःम, अचार, लड्डु, सुत्केरी मसला लगायत अन्य स्थानीय उत्पादनहरु राखिएका छन् । मेलामा मनोरञ्जनको लागि परम्परागत संस्कृति झल्किने बाजागाजा संगीत पनि रहेको छ ।– न्युज एजेन्सी नेपाल



