बढ्यो विद्युतीय कारोबार, कुन माध्यमबाट कति ?
काठमाडौं, १८ वैशाख । कोभिड–१९ महामारीले उद्योग व्यापार लगायतका आर्थिक तथा सामाजिक गतिविधिलाई नकारात्मक असर गरे पनि बैङ्क तथा वित्तीय संस्थाको विद्युतीय कारोबारलाई विस्तार गर्न सहयोग गरेको छ ।
सङ्क्रमणको समयमा बैङ्क तथा वित्तीय संस्थामै पुगेर कारोबार गर्न अप्ठ्यारो परेका कारण सेवाग्राही विद्युतीय कारोबारतर्फ आकर्षित र अभ्यस्त भएको पाइएको हो । यसकै कारण एक वर्षको अवधिमा विद्युतीय कारोबार झन्डै चार गुणाले बढेको छ । कोरोना महामारीकै बेला चम्किएका क्यूआर, वालेट, मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, आईपीएस, आरटीजीएस, इलेक्ट्रोनिक चेक क्लियरिङ, ई–कमर्स, पीओएसलगायतका माध्यमले यतिबेला कारोबार बढाएका छन् ।
अघिल्लो आर्थिक वर्षको फागुनमा दुई अर्ब पाँच करोड ५० लाख रुपैयाँको कारोबार क्यूआर कोडबाट कारोबार भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा सात अर्ब ७६ करोड २० लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै मोबाइल बैङ्किङबाट एक खर्ब सात अर्ब ११ करोड ९० लाख रुपैयाँ भएको छ ।
आरटीजीएसबाट ३६ खर्ब ९२ अर्ब ९८ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको हो । कनेक्ट आइपिएसबाट दुई खर्ब ७३ अर्ब ८५ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
वालेटमार्फत १६ अर्ब ५९ करोड ९० लाख रुपैयाँ कारोबार भएको छ । यो आर्थिक वर्षको फागुनमा डेबिट र क्रेडिट कार्ड मार्फत ७२ अर्ब ५९ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।