श्रमिक दिवस मारमा मजदूर
काठमाडौं, १८ वैशाख । चालु आर्थिक वर्षको सुरुदेखि नै दबाबमा परेको अर्थतन्त्र अहिले आएर संकुचित मोडमा पुगेको छ । विदेशी मुद्राको सञ्चिति निरन्तर घट्दै गएपछि सरकारले आयात प्रतिबन्ध लगाएको छ ।
मोटरगाडीदेखि लिएर मोबाइलसम्मका वस्तुको आयातमा सरकारले प्रतिबन्ध लगाएको हो ।
अर्थतन्त्रको बाह्य क्षेत्र असन्तुलित हुँदै गएपछि सरकारले तीन महिनाका लागि आयात प्रतिबन्ध लगाएको हो ।
एकातिर बैंकहरू लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् भने अर्कोतिर देशले विदेशी मुद्रा अभावको डर खेपिरहेको छ । अर्कोतिर सरकारी ढुकुटीमा राजस्व त जेनतेन जम्मा भएको छ। ऋण पनि लिएको छ तर पुँजीगत खर्च भने अझै गर्न सकेको छैन । ९ महिना बितिसक्दा सरकारले जम्मा २९ प्रतिशत पुँजीगत खर्च गरेको छ ।
यी र यस्ता कयौं क्षेत्र जहाँ दैनिक ज्यालादारी मजदूर निर्भर हुन्छन् प्रभावित भएका छन् ।
कोरोना महामारीको मारमा परेका मजदूरमाथि आर्थिक संकट बज्रपात परेको छ । तर पनि यस्तोमा सरकारले कुनै राहतको प्याकेज भने दिएको छैन ।
निर्माण क्षेत्रमा काम गर्ने मजदूरको भान्छा बन्द हुने अवस्थामा पुगको छ । निर्माणको समयमा काम ठप्प हुने अवस्थामा पुगेको छ। जसका कारण मजदूरहरू समस्यामा परेका छन् । निर्माण क्षेत्रकै मजदूरको सुरक्षा क्षेत्रमा काम गर्दै आएका नरनाथ लुइटेलले अहिले विस्तारै समस्या देखा पर्न थालेको बताए ।
सरकारी निर्माणको काम सँगैसँगै निजी निर्माणका काम रोकिएको छ ।
निर्माण सामग्रीको व्यापार न्यूनतम भइरहेको नेपाल डण्डी उत्पादन संघका वरिष्ठ उपाध्यक्ष किरण शाख बताउँछन् ।
सरकारी पक्षले पनि तरलता अभावको लागि सम्बोधन गर्न चाल्नुपर्ने कदम सही तवरबाट गर्न सकेन । विकास खर्च बढाएर बजारमा पैसा पठाउनु पर्ने सरकारले विकास खर्च गर्न सकेन। तरलता अभाव बढ्दै गयो। तरलता अभावसँगै बैंकहरूले कर्जाको ब्याजदर बढाउन थाले ।
व्यक्तिगत आवास निर्माण गर्न चाहनेले पनि ऋण पाएका छैनन् । जसका कारण व्यक्तिगत आवास निर्माणलगायत काम रोकिएको छ। नेपाालमा सरकारी निर्माणभन्दा व्यक्तिगत निर्माणको काम बढी हुन्छ ।
निर्माण क्षेत्रमा आएको संकटका कारण मजदूरहरूले पलायनको बाटोसमेत खोजिरहेको उनको भनाइ छ। केन्द्रीय तथ्यांक विभाग अनुसार नेपालमा कुल रोजगारीमा रहेकामध्ये १३ प्रतिशत रोजगारी निर्माण क्षेत्रले नै सिर्जना गरेको छ । विभिन्न संघ संस्थाहरूले गरेको अध्ययनलाई आधार मान्ने हो भने नेपालमा १५ लाखभन्दा बढी मजदूर नियमित रुपमा निर्माण क्षेत्रमै रहेका छन् ।
यसबाहेक पनि निर्माण क्षेत्रमा रहेका पार्टटाइम मजदूरको संख्या पनि १० लाखभन्दा बढी छ । अहिले तरलता अभावसँगै निर्माण क्षेत्रमा परेको असरले प्रत्यक्ष रुपमा निर्माण मजदूरलाई असर गरिरहेको छ ।
यो अवस्था केही समय लम्बिए निर्माण सामग्री उत्पादन गर्ने उद्योगमात्रै बन्द हुने छैनन् निर्माण क्षेत्रमा रहेका मजदूरसमेत प्रत्यक्ष असरमा पर्ने छन्।
निर्माण क्षेत्र मात्र होइन। पछिल्लो समयको उर्जा संकटले समग्र औद्योगिक क्षेत्र अन्धकारमा छ । उत्पादन नै बन्द गरेर उद्योग बन्द हुने अवस्थामा पुगेका छन । यसको मारमा पनि श्रमिक नै पहिला पर्छन् । समस्या समाधान नभएपनि न्यूनिकरणका लागि आगामी बजेट हेर्नुको विकल्प छैन ।