बैंकहरुको निक्षेप करिब ६ अर्बले बढ्यो, कर्जा घट्यो
काठमाडौं, २६ वैशाख । चुनाव नजिकिदै गर्दा वाणिज्य बैंकहरुमा निक्षेप संकलनमा सामान्य सुधार देखिएको छ । वैशाख लागे देखिनै बढ्न नसकेको निक्षेप गत साता भने ६ अर्ब रुपैयाँले बढेको छ । बैशाख १६ गतेसम्ममा ४३ खर्ब ६८ अर्ब रुपैयाँ रहेको निक्षेप संकलन बैशाख २३ गतेसम्ममा ४३ खर्ब ७३ अर्ब रुपैयाँमा पुगेको हो।
यस्तै गत साता कर्जा लगानी भने ४ अर्ब रुपैयाँले घटेको छ । गत साता बैंकहरुको कर्जा लगानी ४१ खर्ब ९७ अर्ब रुपैयाबाट घटेर ४१ खर्ब ९३ अर्ब रुपैयाँमा झरेको हो। गत शुक्रबारसम्ममा २७ बैंकहरुको औसत सिडि रेशियो ९०.८१ प्रतिशत कायम भएको छ ।