बिमामा पुँजी बृद्धिको उपयुक्त विकल्प बन्दै मर्जर
काठमाडौं, ३१ वैशाख । गत बिहीबार नेपालमा पहिलो पटक बिमा कम्पनीहरुबीच अहिलेसम्मकै ठूलो मर्जरको सम्झौता भएको छ। तीनवटा जीवन बिमा कम्पनी गुराँश लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सले मर्जरमा जान सहमतिपत्रमा हस्ताक्षर गरिसकेका छन् ।
बिमा समितिले एक वर्ष भित्र जीवन बिमा कम्पनीहरुलाई न्यूनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीहरुलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्न निर्देशन छ।
कम्पनीको पुँजी बृद्धिको लागि मर्जर उपयुक्त विकल्प बन्दै गएको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आउँदा प्राईम लाइफको चुक्ता पुँजी दुई अर्ब ७७ करोड ९६ लाख रुपैयाँ रहेको छ। युनियन लाइफको दुई अर्ब १५ करोड रुपैयाँ मात्रै छ भने गुराँस लाइफको चुक्ता पुँजी दुई अर्ब ८ करोड ४२ लाख रुपैयाँ रहेको छ। मर्जरपछिको पुँजी ७ अर्ब रुपैयाँ भन्दा धेरै हुनेछ।
केहिदिन अघि मात्र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेड एक-आपसमा गाभिने सम्झौता गरेका छन् । साथै, प्रिमियर इन्स्योरेन्स कम्पनी र सानिमा जनरल इन्स्योरेन्स मर्जको तयारी थालेका छन् ।