सुरक्षण मुद्रण केन्द्रमा बिकल आउने संकेत
काठमाडौं, १३ जेठ । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई निरन्तरता दिनका लागि सरकारले गठन आदेशमै संशोधन गरेको छ । उक्त केन्द्रमा विकल आउने संकेत देखिएको हो ।
सुरक्षण मुद्रण केन्द्र स्थापना तथा सञ्चालनका लागि भन्दै गठन तथा सञ्चालन भइरहेको केन्द्रमा हाल बिकल पौडेल कार्यकारी निर्देशक छन् । उनको कार्यकाल सकिन लागेपछि सरकारले गठन आदेश संशोधन गरेको छ ।
सुरक्षण मुद्रण विकास समिति गठन आदेशमा कार्यकारी निर्देशकको कार्यकाल पाँच वर्षको हुने व्यवस्था थियो । आदेशको दफा ६ को उपदफा ३ मा पाँच वर्षको कार्यकाल हुने व्यवस्था गरिएको थियो ।
सरकारले उपदफा ३ पछि ३ क थप गर्दै थप एक कार्यकालका लागि एक पटकका लागि थप गर्नसक्ने व्यवस्था गरिएको छ । २०७५ सालमा कार्यकारी निर्देशका नियुक्त भएका पौडेलको कार्यकाल थप गर्नका लागि अहिले नै आदेश संशोधन गरिएको हो ।
२०७४ सालको असारमा पौडेल केन्द्रको कार्यकारी निर्देशक नियुक्त भएका थिए। त्यतिबेला शेरबहादुर देउवा नै प्रधानमन्त्री थिए ।
पौडेल यसअघि सेक्युरिटी प्रेस खरिद घोटाला कान्डमा जोडिएका व्यक्ति हुन् । तत्कालीन सञ्चारमन्त्री बास्कोटाको ७० करोड घुस मागेको अडियो सार्वजनिक भएको सो खरिदका मुख्य योजनाकार नै पौडेल हुन् ।
सूचना प्रविधिका ठूला खरिदमा सेटिङ गर्न माहिर पौडेललाई सबै सरकारले उत्तिकै विश्वास गर्दै आएका छन् । देउवा सरकारका पालामा नियुक्त भएका उनलाई केपी ओली नेतृत्वको सरकारले पनि उत्तिकै विश्वास गरेको थियो ।