बजेटमा सबैको स्वाधीनता छ, मिलेर कार्यान्वयन गरौं : अर्थमन्त्री

काठमाडौं, १९ जेठ । अर्थमन्त्री जनार्दन शर्माले सबैको स्वाधिनता कायम हुने गरी सरोकारवाला पक्षहरुसँग बारम्बार छलफल गरेर आगामी आर्थिक बर्ष ०७९–८० को बजेट सार्वजनिक गरेको बताएका छन् । बजेट कार्यान्वयनमा सहयोग गरेर मुलुकलाई आत्मनिर्भर र समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा सहयोग गर्न पनि उनले आग्रह गरेका छन् ।
नेपाल आर्थिक संघ र बैंक तथा बित्तीय संस्था परिसंघले अर्थ मन्त्रालयको सहकार्यमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले विभिन्न विषयगत क्षेत्रका सरोकारवाला, टेलिफोनबाट दुरदराजका नागरिक र रौतहटका अल्पसंख्यक परिवारदेखी कर्णालीको जनजातीसम्मलाई प्रत्यक्ष सोधेर बजेट निर्माण गरेकाले सबैको स्वाधिनता रहेको बताए । ‘यो बजेट तपाईहरुको हो, म त केबल प्रतिनिधि मात्र हुँ,’ उनले भने, ‘मेरो क्षमताले भ्याएसम्म सबैको बिषयलाई सम्बोधन गर्नेगरी बजेट बनाएको छु । अब यसलाई सबै मिलेर कार्यान्वयन गरौं ।’
आम जनताले स्वामित्व लिन सक्ने गरी बजेट बनाएकाले कार्यान्वयन हुने र बजेटले लिएका उदेश्य हाँसिल हुने उनले विश्वास व्यक्त गरे । उनले कृषिलाई उत्पादन, रोजगारी र निर्यातको क्षेत्र भएकाले प्राथमिकता दिएर बजेटमा समावेश गरेको जानकारी दिए ।
कृषिमा संरचनागत सुधारको पहल लिएको र ढुवानीका लागि कृषि एम्बलेन्स तथा बजारका लागि संकलन केन्द्रको विषय राखिएको उनले जानकारी दिए ।
मुलुकमा कृषि बस्तुको ठूलो उत्पादन संभावना भएकाले प्रमुख खाद्य बाली, तरकारी र फुलफुलको ३० प्रतिशतसम्म आयात प्रतिस्थापन गर्ने लक्ष्य राखिएको अर्थमन्त्री शर्माले बताए ।