पेट्रोलियम पदार्थको मुल्य घटेसँगै सार्वजनिक सवारीसाधनको भाडा सस्तो
काठमाडौं, २० जेठ । पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णयसँगै अन्तरप्रदेश सार्वजनिक सवारीसाधनको भाडा समायोजन गरिएको छ ।
स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारीको भाडा समायोजन गरिएको हो ।
इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा समायोजन हुने गर्छ । बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ अर्थात ६.१३ प्रतिशत घटेको थियो ।
जस अनुरूप अब यात्रुवाहक सवारीसाधनको भाडा २ प्रतिशत घटेको छ । त्यस्तै, पहाडी बाटोमा चल्ने मालवाहक सवारीमा २.६ र तराईको बाटोमा चल्ने मालवाहकमा २.९ प्रतिशत घटेको यातायात व्यवस्था विभागले जनाएको छ ।
एक प्रदेशभित्रै अर्थात् स्थानीय रुटमा भने पुरानै भाडा यथावत रहनेछ । पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा धेरै घटेमा फेरि स्वचालित प्रणाली अनुसार भाडा घट्ने छ भने पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा धेरै बढेमा थप बढ्ने विभागले जनाएको छ ।