जनतालाई तत्काल राहत दिन सरकारसँग गगन थापाको माग
काठमाडौं, २० जेठ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले मूल्यवृद्धिको मारमा परेका जनतालाई तत्काल राहत दिन सरकारसँग माग गरेका छन् ।
उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आउने दिनमा झनै चुनौती थपिने भन्दै त्यसको नियन्त्रणका लागि युद्धस्तरमा काम गर्न पनि प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराए ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल हटाउन माग गर्दै संसदमा पेस गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै थापाले कुनै मन्त्रालयलाई यो समस्या पन्छाएर नबस्न पनि प्रधानमन्त्री देउवासँग आग्रह गरे ।
‘कोभिड र त्यसपश्चात रुस–युक्रेन युद्धका कारणले गर्दा अन्तराष्ट्रिय बजारमा जसरी मूल्य अकाशिएको छ । सप्लाई जसरी अवरुद्ध भएको छ । यसले आउने दिनहरू झनै चुनौतिपूर्ण हुने संकेत गरिरहेको छ । यसको आधारमा भारतले अब जस्तो निर्णय गर्छ, त्यस हाम्रो बजारलाई थप प्रभावित पार्छ । त्यसैले यसलाई हलुका रूपमा नलिन आग्रह गर्दछु,’ थापाले भने, ‘म एउटा कुनै मन्त्रालयको मात्रै कुरा होईन, यसले यति अस्तव्यस्त बनाउछ, हाम्रो देश समाज सबैतिर ।
त्यसैले मत सम्माननीय प्रधानमन्त्रीजीलाई नै आग्रह गर्न चाहन्छु– युद्धको जस्तो सोच राखेर वार सुटिङमा काम गर्नुपर्ने बेला छ । कुनै एउटा मन्त्रालयलाई मात्रै पन्छाएर हुनेवाला छैन ।’
उनले पेट्रोलियम पदार्थमा देखिएको समस्या समाधानका लागि तत्काल पेट्रोलियम पदार्थ ऐन ल्याउन पनि सरकारलाई सचेत गराए ।
थापाले सरकारले १० वर्षभित्र डिजेल, पेट्रोल र एलपी ग्यासमुक्त देश बनाउने गरी काम गर्न आजैबाट सुरु गर्नुपर्ने बताए ।
‘कच्चा तेल ल्याएर रिफाइन गर्ने विकल्पबारे पनि सोचौं । अर्को कुरा, यो संसद चलिरहेको बेला म माननीय मन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु, पेट्रोलियम ऐन चाहियो हामीलाई । पेट्रोलियम ऐन लिएर आयौ भने हामीलाई यसले बाटो देखाउँछ । मेरो अन्तिम कुरा भनेको नेपाललाई पेट्रोल, डिजेल, एलपी ग्याँस मुक्त देश बनाउन आजैबाट महत्वाकांक्षी योजनाका साथ १० वर्ष भित्रमा निमिट्यान्न पार्ने भनेर लाग्यौं भने बाँच्छौँ हामी,’ थापाले भने ।