Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

अर्थमन्त्रीसँग मौद्रिक नीतिबारे परामर्श

अर्थमन्त्रीसँग मौद्रिक नीतिबारे परामर्श

काठमाडौं, २५ जेठ । आगामी मौद्रिक नीतिका सम्बन्धमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जनार्दन शर्मासँग आज मन्त्रालय पुगेर परामर्श गरेका छन् ।

निलम्बन र पुनर्बहाली प्रकरणपछि राष्ट्र बैंकको एजेण्डा बोकेर उनी पहिलो पटक अधिकारी अर्थमन्त्री शर्मालाई भेट्न पुगेका हुन् । यसअघि पनि मन्त्री–गभर्नर एउटै मञ्चमा भेटघाट भए पनि ती औपचारिक कार्यक्रमका सिलसिलामा थियो ।

अर्थमन्त्री शर्माले आगामी वर्षको बजेट ल्याएपछि गभर्नर अधिकारी पनि आगामी वर्षको मौद्रिक नीतिको तयारीमा छन् । अर्थमन्त्रीले ८ प्रतिशतको आर्थिक वृद्धि र ७ प्रतिशतभित्र मूल्यवृद्धि राख्ने बजेटमार्फत घोषणा गरेका छन् ।

उच्च आयातले बाह्य क्षेत्र भ्वाङ परिरहेका बेला सरकारले उच्च आर्थिक वृद्धि लक्ष्य राखेको छ । बजेटको लक्ष्यहरुलाई भेट्टाउने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने अर्थमन्त्रीले सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन् ।

असार अन्तिमसम्म मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक छ। राष्ट्र बैंकले सरोकारवालासँग रायसुझाव पनि माग्न थालिसकेको छ । त्यसै सन्दर्भमा गभर्नर अधिकारी अर्थमन्त्री भेट्न पुगेका हुन् ।

गभर्नर आफ्नो सानो टिम लिएर गएका थिए भने अर्थमन्त्रीसँग सचिव, सहसचिवहरुको समूह थियो । करिब ४५ मिनेट मन्त्रालयमा बिताएका गभर्नरले अर्थमन्त्रालय मौद्रिक नीतिबाट के चाहन्छ भनेर सोधेको प्रष्ट छ ।

गभर्नर अधिकारीले आगामी बजेटका लक्ष्यहरुलाई सघाउ पुग्ने गरी मौद्रिक नीति तर्जुमा गर्ने बताएका थिए । उनले आफ्ना केही योजनाहरु पनि बताएका थिए ।

अर्थमन्त्री शर्माले ‘राम्रोसँग अध्ययन गरेर मौद्रिक नीति ल्याउन’ भनेका थिए ।
अर्थमन्त्री शर्माको पहलमा सरकारले गत चैतमा गभर्नर अधिकारीमाथि छानबिन गर्न समिति बनाएको थियो । छानबिन समिति गठन लगत्तै उनी निलम्बनमा परेका थिए । सर्वोच्च अदालतले गभर्नरलाई पुनर्स्थापित गरिदिएपछि मन्त्रीसँग पहिलो पटक आज बुधबार औपचारिक छलफल भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x