पेट्रोलियम पदार्थको कर ५० प्रतिशतले घटाउन निर्देशन
काठमाडौं, ११ असार । पेट्रोलियम पदार्थमा सरकारले लिँदै आएको कर ५० प्रतिशत घटाउन संसदिय समितिले निर्देशन दिएको छ ।
संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थमा लिँदै आएको कर ५० प्रतिशत घटाउन निर्देशन दिएको हो ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि सामान्य नहुन्जेल सरकारले आयल निगमबाट विभिन्न शीर्षकमा लिँदै आएका करहरू ५० प्रतिशतले घटाउन निर्देशन दिएको समितिले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
पेट्रोलियम पदार्थको चरम मूल्यवृद्धिबाट सम्पूर्ण वस्तु तथा सेवा महँगीएर स्थिति असमान्य बनेको भन्दै यसलाई न्युनिकरण गरी राहत उपलब्ध गराउन पेट्रोलियम पदार्थमा लिँदै आएको कर घटाउन समितिले निर्देशन दिएको हो ।
समितिले आयल निगम र सरोकारवालाहरूसँग छलफल गरेर अर्थ मन्त्रालय, उद्योग मन्त्रालय र आयल निगमलाई यस्तो निर्देशन दिएको हो ।
विद्यमान अन्तरराष्ट्रिय परिवेशबाट सिर्जित पेट्रोलियम पदार्थको मूल्य वृद्धि सामान्य नभएसम्मका लागि पेट्रोलियम पदार्थहरु विक्रीमा सरकारले विभिन्न शिर्षकमा उठाउँदै आएको कर ५० प्रतिशत घटाउन भनिएको समितिका संयोजक प्रकाश रसाइलीले बताए।