नेपाली पुनर्बीमा कम्पनीको भविष्य
डा. रवीन्द्र घिमिरे
बीमा व्यवसायमा पुनर्बीमाको सर्वोपरि भूमिका रहेको हुन्छ । बीमा व्यवसायको आवश्यकता र महत्व जति हुन्छ, त्यति नै महत्व पुनर्बीमा कम्पनीको पनि हुन्छ । पुनर्बीमा कम्पनीविना बीमा कम्पनीको औचित्य रहँदैन ।
बजारमा सबै बीमा कम्पनी नाफा कमाउने उद्देश्यले नै आएका हुन्छन् । बढीभन्दा बढी व्यवसाय र मुनाफा होस् भन्ने ध्येय सबै बीमा कम्पनीको हुन्छ । यद्यपि, व्यावसायिक जोखिम आफैले मात्र वहन गर्दा हानिनोक्सानी पनि हुन सक्छ । त्यसकारण बीमा कम्पनीहरूले आफ्नो जोखिम पुनर्बीमा कम्पनीलाई हस्तान्तरण गरेका हुन्छन् ।
बीमा ऐन २०४९ अनुसार पुनर्बीमा व्यवसाय भन्नाले बीमकले जोखिम धारणा गर्ने अंशभन्दा बढी अंशको पुनर्बीमा गर्ने व्यवसायलाई बुझिन्छ । यसरी बीमक आफूले वहन गर्नुपर्ने जोखिम वहन गरी बाँकी रहेका जोखिमको पुनर्बीमा बीमा समितिले तोकेबमोजिम गराउनुपर्ने हुन्छ ।
पुनर्बीमाले गर्दा बीमा कम्पनीहरूको मुनाफामा स्थिरता आउँछ । बीमा कम्पनीहरूले ठूलाठूला रकमको बीमा गरिरहेका हुन्छन् । त्यसो हुँदा हानिनोक्सानी पनि भइरहेको हुन्छ । तर पनि यस्ता कम्पनीहरूको मुनाफामा धेरै ठूलो असर परिरहेको हुँदैन । कारण, जोखिम बाँडफाँटले गर्दा नाफा वा घाटा सन्तुलित भइरहेको हुन्छ ।
पुनर्बीमाको बजार फस्टाउन सर्वप्रथम बीमाको बजार बढ्नुपर्छ । किनकि बीमाले निश्चित जोखिम आफूसँग राखेर केही प्रतिशत पुनर्बीमालाई दिने हो । गतवर्ष निर्जीवन बीमाको प्रिमियम करिब ३० अर्ब ९० करोड रुपैयाँ संकलन भएको छ । त्यस्तै जीवन बीमाको १ खर्ब २० अर्ब ५५ करोड रुपैयाँ प्रिमियम संकलन भएको छ । यस वर्ष यसमा १०–१५ प्रतिशत बढ्ने अनुमान गरिएको छ । जीवन बीमातर्फ ९५ प्रतिशत प्रिमियम कम्पनीहरू आफैले राख्छन् । ५ प्रतिशत जति प्रिमियम मात्र पुनर्बीमालाई दिन्छन् ।
जीवन बीमाको पुनर्बीमा बजार सानो छ । सम्पत्ति बीमा, हवाई बीमा, कृषि बीमा, पूर्वाधार बीमा, मरिन, कार्गो बीमा बढाउँदै लगेर १ खर्ब रुपैयाँ बराबरको व्यवसाय ल्याउन सके पुनर्बीमाको भविष्य राम्रो हुनेछ । किनकि यसमा ५० प्रतिशत जति जोखिम उनीहरूले राखेर बाँकी जोखिम पुनर्बीमा कम्पनीलाई दिन्छन् । यसरी १ खर्बको बजार बन्यो भने ५० अर्ब रुपैयाँ बराबरको व्यवसाय पुनर्बीमा कम्पनीले पाउँछन् ।
त्यसैले जबसम्म स्थानीय बीमा बजार उकासिँदैन, तबसम्म पुनर्बीमा कम्पनीको बजार पनि बढ्न सक्दैन । पुनर्बीमाको व्यवसाय बढाउन बीमाकै व्यवसाय बढ्नुपर्छ । यसका लागि शैक्षिक क्षेत्रले बीमा शिक्षालाई पनि प्राथमिकता दिनुपर्छ । आवश्यक अध्ययन–अनुसन्धान गरिनुपर्छ । यस्ता कार्यले बीमाप्रति मानिसको विश्वास बढ्छ । राम्रा खालका अनुसन्धानले बीमा बजारमा भएका समस्याको पहिचान हुनुका साथै समाधानमा समेत टेवा पुग्छ । यसको सकारात्मक प्रभाव बीमाको बजारमा पर्छ । त्यो भनेको स्वाभाविक रूपमा पुनर्बीमाको बजारमा पनि सकारात्मक प्रभाव पर्नु हो । यसरी शैक्षिक कार्यक्रममै बीमालाई समेट्न सके आम जनमानसमा बीमाको जनचेतना र साक्षरता बढ्छ । परिणामस्वरूप बीमा उद्योगलाई नै फाइदा पुग्छ ।
यस क्षेत्रमा चुनौती र जोखिम पनि धेरै छन् । अहिले जलवायु परिवर्तनका कारण जोखिम बढिरहेको छ । राजनीतिक अस्थिरता बढ्दा पनि विभिन्न जोखिमको सम्भावना हुन्छ । यस्तै बीमा क्षेत्रले खेपेको अर्को चुनौती दक्ष जनशक्ति अभावको पनि हो । यसमा पनि बीमांकीको अभाव ठूलो समस्याको रूपमा रहेको छ । यसका लागि विदेशबाट जनशक्ति ल्याउनुपर्ने भएकाले ठूलो रकम बाहिरिने गरेको छ । स्तरीय सेवा सुविधा प्रवाहमा पनि कठिनाइ छ ।
यस्तै पुनर्बीमा कम्पनीहरूमा कमिशनको विषयमा प्रतिस्पर्धा हुन्छ । पुनर्बीमा व्यवसायमा ३० देखि ४५ प्रतिशतसम्म वैधानिक रूपमै कमिशन दिनुपर्ने हुन्छ । बीमा कम्पनीहरूले जुन पुनर्बीमा कम्पनीले बढी कमिशन दिन्छ, सोही कम्पनीलाई व्यवसाय दिन्छन् । तर जतिधेरै कमिशन दिनुप¥यो, त्यति धेरै खर्च बढ्छ । खर्च बढ्दा नाफामा ह्रास आउँछ । नाफा खुम्चिएपछि लगानीकर्तालाई दिने प्रतिफल समेत घट्छ । यसले उनीहरूमा निराशा छाउँछ ।
अर्को चुनौती अहिले विदेशी पुनर्बीमा कम्पनीले नेपालको बीमाको जोखिम लिन्छन् । त्यसका लागि तुलनात्मक रूपमा महँगो रेट लगाएका हुन्छन् । जोखिम लिएबापत उनीहरूले सामान्य भन्दा बढी प्रिमियम तिर्न लगाउँछन् । त्यो अवस्था आउनुको कारण मुलुककै जोखिम हो । किनकि नेपालमा बाढीपहिरो बढी जाने गरेको छ । भूकम्पकै पनि बढी जोखिम छ । महामारी, प्राकृतिक प्रकोपहरू धेरै हुने गरेका छन् । यस्तै ठगीका कारण दाबी सम्बन्धी जोखिम बढेको छ । अहिले भौतिक पूर्वाधार, त्यसमा पनि जलविद्युत्मा बढी दाबीहरू आएकाले यस्ता आयोजनाको बीमाको प्रिमियम बढेको छ । त्यसो गर्नुको कारण अन्तर्राष्ट्रिय रूपमै पुनर्बीमाको पनि प्रिमियम महँगिनु हो । यसले व्यवसायीलाई पनि असर गरेको छ ।
७५ वर्षको बीमाको इतिहासमा नेपाली पुनर्बीमाको कम्पनी आएको हो । बीमाप्रति सरकारको सकारात्मक नीतिका कारण पुनर्बीमा कम्पनीलाई लाभ पनि भएको छ । बीमाको दायरा बढाउन अनुदानका कार्यक्रम समेत सञ्चालनमा छन् । जस्तै कृषिबीमामा ८० प्रतिशतसम्म अनुदान दिइएको छ । अनिवार्य रूपमा गर्नुपर्ने बीमामा अनावश्यक प्रतिस्पर्धा नहोस् भनेर पुलको सृजना गरिएको छ । यसमा सरकारको ठूलो भूमिका छ । यस्ता पुलको व्यवस्थापकको रूपमा पनि नेपाली पुनर्बीमा कम्पनीले काम गरेका छन् ।
यस क्षेत्रमा गर्नुपर्ने काम पनि धेरै छन् । दक्ष जनशक्तिको अभावमा बीमा उद्योगमा कर्पोरेट गभर्नेन्स (संस्थागत सुशासन) कमजोर छ । अन्डरराइटिङमा समस्या छ । दाबी फछ्र्योट समयमा हुन सकिरहेको छैन । आम जनतासम्म सही सूचना पु¥याउन पनि कठिनाइ भइरहेको छ । कमजोर जनशक्तिकै कारण बीमा कम्पनी बदनाम भएका उदाहरण पनि छन् । यस्तो समस्या आउन दक्ष जनशक्तिको विकास हुनुपर्छ । यसका लागि बीमा मात्रै पढाइ हुने विशेष शिक्षण संस्था (कलेज)को खाँचो देखिएको छ । नेपाल सरकारले पनि यसतर्फ ध्यान दिनुपर्छ ।
त्यस्तै, विश्वभरि नै ‘ट्याक्स सेभिङ’का लागि जीवन बीमा किन्ने चलन छ । २५ हजार रुपैयाँसम्मको प्रिमियम कर हिसाब गर्दा घटाउन पाइन्छ । तर यहाँ १ लाख, २ लाख र ५ लाखसम्म प्रिमियम तिर्नेहरू पनि छन् । यो सिलिङलाई बढाउन बीमा कम्पनीहरूले लबिङ गरिरहेका छन् । पहिलेको ७ हजारबाट बढाएर २५ हजार पु¥याइए पनि यसको वृद्धिदर एकदम सामान्य छ । हरेक वर्ष ५ हजारको दरले बढाइएको भए पनि अहिले ५०–६० हजार पुग्थ्यो । बरु यसमा विभिन्न शर्त राख्न सकिन्छ । विभिन्न खालका क्यापहरू राखेर १ लाख रुपैयाँसम्मको प्रिमियममा ट्याक्स क्याल्कुलेशनमा घटाउन पाइने व्यवस्था भयो भने बढीभन्दा बढी प्रिमियम संकलन हुन्छ । अहिले धेरै पोलिसीहरू अन्डर इन्स्योरेन्स छन् । जस्तै, कुनै व्यक्तिको भ्यालू ५० लाख रुपैयाँको भए पनि १० लाख रुपैयाँको मात्र बीमा गरिएको छ । तर ५० लाख रुपैयाँकै बीमा गर्न सक्ने हैसियत भए पनि किन उसले त्यति थोरैको मात्र बीमा गरेको छ भने उसको ट्याक्स सेभिङ थोरै हुन्छ । ‘ट्याक्स सेभिङ’मा सरकार उदार भइदिने हो भने स्रोत परिचालन गर्ने काममा बीमा कम्पनीहरूले राम्ररी काम गर्न सक्थे ।
यस्तै बीमा समितिमार्फत संसद्मा पेश गरिएको प्रस्तावित नयाँ बीमा ऐन एकदम आवश्यक छ । यसलाई अघि बढाउनेतर्फ पनि ध्यान दिनुपर्छ । लघुबीमाको पनि पहुँच बढाउनुपर्छ । यसअन्तर्गत स्वास्थ्य बीमाको कार्यक्रम सराहनीय छ । १ लाखभन्दा बढीको व्यावसायिक स्वास्थ्य बीमाको प्रवद्र्धन गर्नुपर्छ । दूरदराजसम्म, किसान र सुकुमवासीसम्म लघुबीमाको विशेष प्रडक्ट ल्याउनुपर्छ । यसका लागि प्रविधिको बढीभन्दा बढी प्रयोग अपनाउन सकिन्छ । साथै लघु बीमा कम्पनी छुट्टै स्थापना भयो भने झनै राम्रो हुन्छ ।
विकसित मुलुकमै पनि शतप्रतिशत पुनर्बीमा स्वदेशी कम्पनीमै नहुन सक्छ । केही जोखिम विदेशका पुनर्बीमा कम्पनीमा लैजाने चलन हुन्छ । अहिले नेपालको पुनर्बीमा कम्पनीमा मुलुकको बीमाको ३५ प्रतिशत व्यवसाय आएको छ । यसलाई बढाएर लैजान सकिन्छ । यसका लागि नेपाली पुनर्बीमा कम्पनीले आफ्नो क्षमता र पूँजी बढाउनुपर्छ । सेवासुविधाको गुणस्तर पनि उकास्नुपर्छ । साथै नेपाली पुनर्बीमा कम्पनी नेपालकै बीमामा मात्र सीमित हुनुहुन्न । बाहिरी मुलुकबाट पनि व्यवसाय ल्याउन सक्नुपर्छ । क्षमता अनुसार थप व्यवसाय लिँदै जानुपर्छ ।
बीमा सबैको माग र आवश्यकता हो । विकसित मुलुकमा बीमा नभई कुनै काम अघि बढ्दैन । नेपालमा पनि बीमाको माहोल बढ्दै छ । अनिवार्य पनि हुँदै छ । त्यसैले भविष्य राम्रो छ । तर नेपाली कम्पनीको तुलनामा विदेशी कम्पनी अलि सक्षम, जोखिम लिन सक्ने क्षमता बढी र विश्वसनीय मानिने भएकाले नेपालका बीमा कम्पनीहरूलाई विदेशी पुनर्बीमा कम्पनी राम्रो भन्ने लागेको छ ।
यद्यपि नेपाली पुनर्बीमा कम्पनी पनि विदेशीको स्तरमा जान सक्छन् । वित्तीय र व्यवस्थापनका हिसाबले सबल र सुदृढ हुन सक्छन् । दक्ष जनशक्ति भित्र्याउने, सूचना प्रविधिको क्षमता बढाउने, व्यावसायिक क्षमता र पूँजी बढाउँदै लैजाने हो भने भोलिका दिनमा नेपाली पुनर्बीमा कम्पनीको भविष्य राम्रो छ । त्यसो हुँदा नेपाली पुनर्बीमा कम्पनी पनि एसियाली स्तरको बन्न सक्छन् । यी सम्भावना हेर्दा नेपाली पुनर्बीमा कम्पनी मुलुकको बीमा बजारमा सफल रूपमा प्रस्तुत हुने आधार प्रशस्त देखिन्छन् ।
(घिमिरे नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष हुन्)