विप्रेषणमा वृद्धि र अत्यधिक कर्जा विस्तारले व्यापारघाटा चुलिएको सिबिफिनको निष्कर्ष
काठमाडौं, २३ असार । विप्रेषण आयमा भएको वृद्धि र उच्च कर्जा प्रवाहले व्यापारघाटा चुलिएको बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले गरेको अध्ययन प्रतिवेदनले देखाएको छ । रेमिट्यान्स बढ्दा र बैंक तथा बित्तीय संस्थाले प्रवाह गरेको कर्जाको कारणले व्यापार घाटा बढेको उक्त अध्ययनको निष्कर्ष छ ।
अध्ययनले बैंक तथा वित्तीय संस्थाले १०० रुपैयाँ कर्जा लगानी बढाउँदा दीर्घकालमा ५० रुपैयाँले व्यापार घाटा बढाउने देखाएको छ। बैंक तथा वित्तीय संस्थाले अनुत्पादक क्षेत्रमा धेरै कर्जा लगानी बढाउदा समस्या देखिएको प्रतिवेदनले देखाएको छ। यसले गर्दा उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सुझाव समेत दिएको छ।
यसैगरी व्यापार घाटा बढ्नुमा रेमिट्यान्सको पनि भुमिका रहेको प्रतिवेदनले देखाएको छ। रेमिट्यान्स धेरै उपभोगमा जाँदा त्यसले व्यापार घाटा बढाएको अध्ययनको निष्कर्ष छ। रेमिट्यान्सको रकमबाट बचत बढाउने गरि सरकारले नीतिगत सुधार गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनले उत्पादनमुलक र अनुत्पादक क्षेत्रमा दुइथरी ब्याजदर लागु गर्नुपर्ने कुरालाई पनि औँल्याएको छ। उत्पादनमुलक क्षेत्रमा अन्य क्षेत्रको तुलनामा कम ब्याजदर हुनुपर्ने र ब्यादर एकल अंकमा हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ।