पर्यटनको अनुपम लाभ
– दीपकराज जोशी
नेपाल पर्यटकीय रूपमा अथाह सम्भावना भएको देश हो । तर नीति, निर्मातामा यस क्षेत्रप्रतिको बुझाइ कम भएका कारण सम्भावना अनुसारको लाभ लिन सकिएको छैन । पर्यटन भनेको आर्थिक–व्यावसायिक क्षेत्र हो । तर हामी सामाजिक तथा राजनीतिक हिसाबले बढी ग्रहण गर्छौं । नेपालका सबै गाउँ–ठाउँलाई पर्यटकीय क्षेत्र बनाउनुपर्छ भन्ने आवाज उठिरहेको छ । यो त्यति उपयोगी बुझाइ हो जस्तो मलाई लाग्दैन । यो आर्थिक–व्यावसायिक क्षेत्र भएकाले प्रतिफलमा आधारित लगानी हुनुपर्छ भनेर बुझ्नुपर्छ ।
व्यवसाय र अर्थलाई बुझ्दा हामी तीन चारवटा कुरा हेर्छौं । एउटा त्यो ‘प्रडक्ट’ के हो र अर्को कुनै पनि व्यवसायमा गन्तव्यको निकै महत्व रहन्छ । त्यो कस्तो स्थान र अवस्थितिमा छ भन्नेले पनि ठूलो अर्थ राख्छ । तेस्रो भनेको समय हो । कुनै पनि गतिविधिहरू सुरु गर्दा समयले कति लाभ दिन्छ । चोथौ प्रवद्र्धन हो । आजको दिनमा सम्भाव्यताको हिसाबले कुरा गर्ने हो भने नेपाल साह्रै ठूलो सम्भावना बोकेको मुलुक हो । एभरेष्ट, शेर्पा, मुस्ताङ, गोर्खा, लुम्बिनी, बुद्ध, काठमाडौं जस्ता नामहरू छन्, जसलाई संसारले भन्ने बित्तिकै चिनिहाल्छ । यो पनि हाम्रो लागि ठूलो सम्भावना हो ।
त्यस्तै, संसारकै प्रतिष्ठित (आइकोनिक) गन्तव्यहरू– साहसिक र प्रकृति (नेचर) नै किन नहोस् । एभरेष्ट आफैंमा अग्लो स्थान हो । नेचुरल, स्पिरिचुअल र आइकोनिक (प्राकृतिक, आध्यात्मिक र प्रतिष्ठित) गन्तव्य हो । संसारको र नेपालको पनि आधुनिक पर्यटनको इतिहास ६०–७० वर्षको छ । अघिल्ला ५०–६० वर्ष एक खालको थियो भने पछिल्लो १०–१५ वर्ष अर्को हिसाबले अघि बढिरहेको छ ।
अघिल्लो कालखण्डमा पर्यटन भनेको विलासिता (लक्जरी) हो भन्ने थियो । पछिल्लो कालखण्डमा यो धारणा परिवर्तन भएर विलासिता नभई आवश्यकता बनेको छ । ‘कम्फर्ट–लक्जरी’ भन्दा पनि अनुभव भन्ने धारणाले व्यापकता पाएको छ ।
यसलाई केले पनि पुष्टि गर्छ भने पहिला राम्रो होटलमा बस्नु पनि आकर्षण थियो । अब त्यसले मात्रै तान्दैन, पर्यटकहरू आफूले अनुभव गर्न नपाएको चिज के छ, त्यसको खोजी गर्छन् । त्यो खानादेखि गन्तव्यसम्म जेमा पनि हुन सक्छ । नेपाल ती अनुभव बटुल्ने ठाउँ हो ।
हामीकहाँ धेरै अद्वितीय गन्तव्य र सेवाहरू छन् । यहाँ ठूलो विविधता छ ।
प्रकृतिको सम्बन्धमा चर्चा गर्दा समुद्र सतहबाट ६० मिटर र अग्लो स्थान ८,८४८.८६ मिटर करिब–करिब १५०–१६० किलोमिटरको दू्रीमा छ । संसारमा यस्तो खालको भौगोलिक विविधता कहीँ पनि छैन । २०–२५ किलोमिटर यात्रा गर्दा नयाँ जलवायु पाइन्छ । यति धेरै आकर्षणका बाबजूद त्यसको लाभ हामीले लिन सकिरहेका छैनौं ।
संस्कृतिकै सन्दर्भमा पनि एक सयभन्दा बढी जातजाति, भाषाभाषी छन् । करिब ६० हजारभन्दा बढी त लोकभाकाहरू नै रहेछन् । यी सबै विविधताको बजारीकरण गरी पर्यटनमार्फत लाभ लिनुपर्छ ।
अर्को यहाँको हावापानी, यो पनि आफैमा पर्यटकीय आकर्षण हो । म नेपाल पर्यटन बोर्डमा हुँदा पनि यहाँको जलवायुको विविधतालाई पर्यटकीय प्रडक्टसँग जोडेर कसरी बजारीकरण गर्न सकिन्छ भनेर कामहरू गरेका छौं ।
नेपालमा एक हजार मिटरभन्दा माथिको भूगोल करिब ८० प्रतिशतभन्दा बढी छ । छिमेकी भारत तथा बंगलादेशमा अत्यधिक गर्मी हुन्छ । बंगलादेश, भारत जस्ता बजारलाई केन्द्रमा राखेर ‘गर्मीसे बेहाल, चलो नेपाल ः हेभी डिस्काउन्ट इन टेम्प्रेचर’अभियान नै चलाएका थियौं । ग्रीष्मयाम, वर्षा ऋतु त्यतिबेलासम्म पर्यटनमा अफ–सिजन मानिन्थ्यो । अघिपछि जुन–जुलाईमा ३०–३२ हजारको संख्यामा मात्र पर्यटक आउने गरेकोमा त्यो बेला ७६ हजारसम्म पर्यटक आए । हिउँद भनेको शीतलहर, तुवाँलो र बादल लाग्ने समय भन्ने बुझाइ छ । तर हामीकहाँ १,००० मिटर भन्दा माथिको उचाइमा खासगरी पहाडी क्षेत्रमा प्रायःजसो जाडो महिनामा चहकिलो घाम लाग्छ । हामीले ‘विन्टर इन वार्म’भनेर प्रडक्ट बेच्न थाल्यौं । यी केही उदारहण मात्र हुन् । काम गर्न सकिने धेरै ठाउँ छन्, जुन अब गर्दै जानुपर्छ ।
हामीले भ्रमण वर्ष सन् २०२० आउँदै गर्दा एउटा सोच राखेका थियौं, वर्षभरि नै पर्यटक भित्र्याउनुपर्छ भनेर । विगत ३०–४० वर्षदेखि नै नेपालको बाह्रैमास पर्यटक आउने बनाउनुपर्छ भनेर छलफल नभएको होइन । तर जहिले पनि सिजनमा मात्र पर्यटक आउने क्रम निरन्तर रह्यो । अक्टुबरदेखि नोभेम्बर महिनासम्म न जहाजको टिकट पाइन्छ, न होटलमा कोठा नै पाइन्छ । त्यस्तै, अप्रिल र मे महिनामा पनि अलि चाप नै हुन्छ । त्यो बाहेक अरू समय अफ–सिजन मान्छौं र पर्यटकीय सुविधाको उपभोग न्यून रहन्छ । त्यसकारण हामीले वर्षैभरि पर्यटक आवागमन हुनेगरी प्रडक्टहरूको बजारीकरण गर्नुपर्छ । अहिलेसम्म हामीले प्रचलित सिजनबाहेकको समयका अन्य सम्भावनालाई प्राथमिकतासहित बेच्न सकेनौं । नेपालमा पर्वतीय पर्यटन (माउन्टेनियरिङ टुरिजम)का लागि मात्र हो भन्ने बुझाइ छ ।
पदयात्रा, हिमाल आरोहण त उपयुक्त समय मात्र गर्न सकिन्छ, त्यसका लागि सिजन कुर्नुपर्छ । हामीसँग वर्षभरि नै बेच्ने प्रडक्ट छन् भने पर्यटन व्यवसायीले सिजन मात्र कुरेर बस्नु पर्दैन, पर्यटन उद्योगलाई हामी बाह्रै महिना जीवन्त बनाउन सकिन्छ ।
संसारभरको पर्यटन अनुभवतर्फ गइरहेको हुनाले नेपाललाई ‘लाइफटाइम एक्सपेरियन्स’ अर्थात् जीवनमा कहिल्यै अनुभूत गर्न नसकिने कुराहरू नेपालमा छन् भनेर प्रचार गर्न खोजेका थियौं । त्यसले आउने १०–१५ वर्ष निकै राम्रो भूमिका खेल्ने अपेक्षा गर्न सकिन्छ ।
कोभिड–१९ ले गर्दा पर्यटनमा ठूलो असर प¥यो । अब त खोप लगाउने दर बढिरहेकाले विस्तारै त्यो शतप्रतिशतमा पुग्छ । कोरोनालाई पनि बिर्संदै गइन्छ । नेपाल संस्कार र संस्कृतिले भरिपूर्ण देश हो । आतिथ्य संस्कारमा हाम्रो मौलिक पहिचान छ । यसलाई पनि जोडेर पर्यटनका प्रडक्ट विकास गर्नुपर्छ ।
यसका अतिरिक्त, वन्यजन्तु पर्यटन पनि धेरै आकर्षण भएको छ । तर चितवन मात्र प्रसिद्ध छ । पूर्वदेखि पश्चिमसम्म निकुञ्ज र वन्यजन्तु आरक्षहरू (संरक्षित क्षेत्र) छन् । यसलाई पनि पर्यटकीय सुविधाका लागि लाभ लिनुपर्छ ।
अब हिमाल त साहसिक पर्यटनसँग मात्र सम्बन्धित भयो । हिमाल, पर्वतहरूले छुट्टै आध्यात्मिक महत्व पनि राख्छ । आध्यात्मिक पर्यटनलाई पनि राम्रोसँग बजारीकरण गर्न सकियो भने पर्यटक तान्न सकिन्छ ।
फोटोग्राफी टूरका लागि त नेपाल जस्तो गन्तव्य अन्त कहाँ होला र ? यहाँ फोटो खिच्ने अथाह रमणीय ठाउँहरू छन् । यी सम्भावनाहरूबाट लाभ लिन हाम्रो पहल जरुरी छ ।
स्थान (ठाउँ)को पर्यटनका लागि झनै महत्व हुन्छ । स्थानको महत्व कस्तो हुन्छ भन्ने उदाहरण हेरौं, धेरैजसो मानिसहरूले दरबारमार्ग, न्यूरोडमा किन पसल खोल्न चाहन्छन् भन्दा त्यो स्थानको फाइदा हेरेको हो । मुग्लिन, मलेखुमा होटल खोल्न चाहन्छन्, तर त्यसको माथि डाँडामा किन चाहँदैनन् भन्दा त्यो ठाउँ विशेषले दिएका फाइदा हो । नेपाल ठाउँ वा अवस्थितिका हिसाबले पनि राम्रो स्थानमा छ ।
संसारको सबैभन्दा ठूलो बजार भारत र चीन हुन् । पर्यटकको संख्या र खर्च गर्ने पर्यटकका हिसाबले पनि यस क्षेत्रका करिब २० वटा शहरबाट २ देखि साढे २ घण्टाको उडानमा नेपाल आउन सकिन्छ । उनीहरूलाई फर्केर जान पनि सहज हुने नै भयो । भारतका लखनाउ, कानपुर, कोलकाता, दिल्ली, मुम्बई, ढाका, इस्लामावाद, कुन्मिङ, शांघाई, ग्वान्जाओ लगायत थुप्रै शहर छन् । हामीले आफ्नो यो लोकेसन (स्थान)को फाइदा लिनुपर्छ । करिब ६ घण्टाको हवाई यात्रामा त हाम्रो संसारको आधा जनसंख्यासँग पहँुच छ । पर्यटनबाट लाभ लिन यो निकै उपयुक्त स्थान र समय हो ।
उपयुक्त समयमा औचित्यपूर्ण काम गर्नुपर्छ अर्थात् ‘मौकामा हिरा फोर्नुपर्छ’ भन्ने पुरानो नेपाली उखानजस्तै पर्यटनबाट लाभ लिन आज हामीलाई मौका छ । हिजोका दिनमा हामीलाई केही सीमितता थिए होलन्, तर अब धेरै सहज हुँदै गएको छ ।
करिब २०–२२ वर्षको इतिहास हेर्ने हो भने हामी विभिन्न खालका संकटबाट गुज्रियौं । कहिले प्राकृतिक प्रकोप, कहिले रोगव्याधि त कहिले राजनीतिक उथलपुथल, सन् १९९० देखि नै हे¥यौं भने सशस्त्र द्वन्द्व भयो । दिनहुँजसो बन्द, हड्ताल हुन्थ्यो । त्यो पनि विस्तारै कम हुँदै गयो । शान्ति प्रक्रियाले पूर्णता पाएको छ । नयाँ संविधान कार्यान्वयनमा आएको छ । प्रदेश र स्थानीय सरकारहरूले पनि राम्रोसँग काम गरिरहेका छन् । राजनीतिक दलहरूले पनि समृद्धिका एजेन्डा अघि सार्न थालेका छन् । यी सबै हिसाबले पनि यो उपयुक्त समय हो । पर्यटन क्षेत्र नेपालका लागि प्रतिस्पर्धी र तुलनात्मक लाभ बोकेको अनि वैदेशिक मुद्रा आर्जनका लागि महत्वपूर्ण क्षेत्र हो । सेवामा आधारित व्यवसाय भएकाले कम लगानी तथा धेरै रोजगारी र बढी प्रतिफल लिन सकिने भएकाले यसमा ध्यान केन्द्रित गर्नुपर्छ ।
यतिबेला दिगो विकास हाम्रो विकास एजेन्डामा समावेश छ । दिगो र वातावरणमैत्री विकासका लागि पर्यटन उपयुक्त क्षेत्र हो ।
विगतका दिनहरूमा हाम्रा पूर्वाधार कमजोर थिए । ८० प्रतिशत पर्यटक हवाईमार्ग मार्फत सेवा दिनुपर्दा एउटा मात्र विमानस्थल त्यो पनि सीमित क्षमता भएकाले निकै गाह्रो थियो । अहिले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पनि विस्तार भएको छ । यसले थप केही विमान आउन मद्दत गर्छ । अब लुम्बिनी र पोखरामा पनि निकै प्रगति भएको छ । नयाँ विमानस्थल बनेका छन् । सडक र पदयात्रा मार्ग पनि विकास भएका छन् । अन्य पूर्वाधार विस्तार हुँदै छ ।
हामीले पर्यटन प्रवद्र्धनमा धेरै विविधता ल्याउन जरुरी छ । हिजोका दिनमा पर्वतीय गन्तव्य साहसिक पर्यटनका लागि भन्ने ब्रान्ड इमेज थियो । अब त्यसमा अरू विविधता ल्याउनुपर्छ । ‘लाइफटाइम एक्सपेरियन्स’का कथाहरूलाई पनि बेच्नुपर्छ । पर्यटक आउने स्रोत बजारमा राम्रोसँग प्रवद्र्धन गर्न सकिएको छैन । हामीले उनीहरूलाई धेरै स्कीममार्फत छनोटका पर्याप्त अवसरमार्फत आकर्षित गर्नुपर्छ ।
आज संसारका धेरै देशबाट पर्यटकको रोजाइमा नेपाल पर्ने गरेको छ । बजारीकरणमा प्रभावकारी माध्यमहरू प्रयोग गर्नुपर्छ । अहिले डिजिटल माध्यम धेरै प्रभावकारी भएकाले यसमार्फत प्रवद्र्धनमा पनि जोड दिनुपर्छ ।
पछिल्लो समय आन्तरिक पर्यटनमा पनि राम्रो प्रगति भएको छ । भूकम्प र नाकाबन्दीपछि २०७३ सालमा त आन्तरिक भ्रमण वर्ष नै मनायौं । आन्तरिक पर्यटन जति बलियो हुँदै जान्छ, गन्तव्यको पहिचान पनि त्यति बढ्दै जान्छ । नयाँ गन्तव्य खोज्न र लगानी बढाउन पनि आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि जोड दिनुपर्छ ।
नेपालको विकास र समृद्धिको सारथी पर्यटन क्षेत्रलाई देश विकासको संवाहक बनाऔं । सन् २०१० देखि २०२० सम्म अर्थतन्त्रलाई विप्रेषणले ड्राइभ ग¥यो । अबको दशक पर्यटनलाई नेपाली अर्थतन्त्रको ‘ड्राइभिङ फोर्स’ बनाउन तपाईं–हामी सबैको साझा पहल आवश्यक छ ।
(जोशी नेपाल पर्यटन बोर्डका निवर्तमान सीईओ हुन्)