बजेटको आकारभन्दा ठुलो मुलुकको व्यापार घाटा
काठमाडौं, १० साउन । गत आर्थिक वर्ष २०७८–०७९ मा १७ खर्ब २० अर्ब १९ करोड रुपैयाँको व्यापार घाटा व्यहोरेको छ । अघिल्लो वर्षको तुलनामा व्यापार घाटा २३ प्रतिशतभन्दा बढी भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
व्यापार घाटा गत आर्थिक वर्षको बजेटको आकारभन्दा बढी हो । गत आर्थिक वर्षको कुल बजेट १६ खर्ब ४७ अर्ब रुपैयाँको थियो ।
गत बर्ष १९ खर्ब २० अर्ब रुपैयाँभन्दा बढीको बस्तु तथा सेवा आयात हुँदा निर्यात भने २ खर्ब रुपैयाँ बराबरको मात्र भएको छ। निर्यात पनि गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा ४१ प्रतिशतले बढी हो । तर स्वदेशमै उत्पादित वस्तुले निर्यात बढाएको होइन । तेस्रो मुलुकबाट आयात गरिएको भटमास, कच्चा पाम तेल, सूर्यमुखी तेलको प्रशोधन गरि गरिएको निर्यातले आकार बढाएको हो ।
देशको आयात निर्यात व्यापारको अवस्था दिन प्रतिदिन विकराल बन्दै गएको छ । पछिल्लो एक दशकको तथ्यांक हेर्ने हो भने आयात दुई सय प्रतिशतसम्म बढेको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७०–०७१ मा ६ खर्ब २६ अर्ब रुपैयाँको बस्तु तथा सेवा आयात भएको थियो। यो एक दशकमा आयात दोब्बरभन्दा बढी भएको छ । यो अझै बढ्ने नै देखिन्छ ।