सडक मर्मत गर्न १ खर्ब ९९ अर्ब संकलन गरेर अन्यत्र खर्च
काठमाडौं, मंसिर २९। सरकारले इन्धान वापत सडक मर्मत सम्भारका लागि भन्दै हरेक वर्ष ५ देखि १० अर्बरुपैयाँसम्म नागरिकबाट उठाउँदै आएको छ। भेइकल रजिष्ट्रेशन दस्तुरवापत पनि पैसा उठाउँदै आएको छ ।
गतको वर्ष इन्धानबाट मात्र सडक मर्मतका लागि ८ अर्ब ८७ करोड ८४ लाख रुपैयाँ र भेइकल रजिष्ट्रेशन वापत ५ अर्ब ६३ करोड ५४ लाख रुपैयाँ उठाएको थियो । आर्थिक वर्ष २०६१–०६२ देखि गतवर्षसम्म सडक मर्मतका लागि भन्दै इन्धानबाट मात्रै नागरिकबाट ९१ अर्ब ९९ करोड ४९ लाख रुपैयाँ उठाइसकेको छ । भेइकल रजिष्ट्रेशन शूल्क मार्फत १ खर्ब ४ अर्ब २६ करोड ५ लाख रुपैयाँ उठाएको छ।
यी दुई शीर्षकबाट यो अवधीमा कुल १ खर्ब ९६ अर्ब २५ करोड ५५ लाख रुपैयाँ शूल्क उठाइसकेको छ । तर त्यसको प्रयोग सडक मर्मत सम्भारमा भएको छैन । राज्य मनोमानी रूपमा अन्यत्रै दुरुपयोग गर्दै आएको छ। सडक बोर्डलाई यो वापतको १ खर्ब १६ अर्ब ५६ करोड रुपैयाँ भुक्तानी दिनुपर्नेमा सरकारले दिएको छैन ।
सडक बनाउन उठाएको पैसाले सडक मर्मत नगर्ने तर कर उठाई रहने सरकारी शैलीका कारण नागरिक आम कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । सरकारले सडक मर्मतका लागि उठाएको पैसा नदिएपछि ६ वर्षपछि सडक प्रयोग गरेबापत पुनः सडक दस्तुर उठाउने नियम ब्युँझाएको छ। मंसिर १ गतेदेखि २९ किलोमिटर लम्बाइको भैरहवा भूमही सडकबाट सडक दस्तुर उठाउन थालिएको छ ।
उक्त सडक प्रयोग गरेबापत बोर्डले ठूला सवारी साधनको हकमा ३० रुपैयाँ र मझौला तथा साना सवारी साधनको हकमा २० रुपैयाँ सडक दस्तुर उठाउन सुरु गरेको छ । अहिले दैकि ७५ देखि ८० हजार रुपैयाँ शूल्क उठिरहेको छ । अब छिटै मुग्लिन–पोखरा, नारायणघाट–बुटवल सडक खण्ड, मुग्लिन–पोखरा, नारायणघाट–बुटवल खण्डमा सडकसहित २१ सडकमा दस्तार उठान सुरु गर्ने बोर्डका कार्यकारी निर्देशक गणेश केसीले जानकारी दिएका छन् ।



