राष्ट्रपति भण्डारीद्वारा ‘ह्युमन मिल्क बैंक’ उद्घाटन
काठमाडौं, ३ भदौ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ‘ह्युमन मिल्क बैँक’ सञ्चालनमा आएको छ । शुक्रबार अस्पतालको ६३औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रूपमा ‘ह्युमन मिल्क बैँक’ अर्थात ‘अमृत कोष’को उद्घाटन गर्नु भएको हो ।
बैंकले समय नपुगी जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुहरूलाई सबैभन्दा बढी आवश्यकता परेका बेलामा अरु आमाहरुको दूध उपलब्ध गराउँछ ।
नेपाल सरकार, युरोपियन युनियन र युनिसेफको साझेदारीमा स्थापना गरिएको ह्यमुन मिल्क बैँकले सुत्केरी आमाबाट सुरक्षित रुपमा दान गरिएको दूध संकलन, प्रशोधन, परीक्षण र भण्डारण गरी आवश्यक परेका शिशुहरूलाई उपलब्ध गराउने छ ।
यो उद्घाटनका क्रममा बोल्दै राष्ट्रपति भण्डारीले यसको स्थापना मातृ तथा शिशु सेवाको क्षेत्रमा ऐतिहासिक थालनी भएको बताउनु भएको छ ।
उहाँले भन्नु भयो ‘यो कोषले नेपालमा मातृ तथा शिशु मृत्युदर घटाउन महत्त्वपूर्ण योगदान दिनुका साथै स्तनपान महत्त्वबारे जनचेतना जगाउने सहयोग पुग्नेछ भन्ने विश्वास छ । नेपाली समाजमा आमाको दूध दान गर्नु पुरानो अभ्यासको रुपमा भए पनि अमृत कोषले व्यवस्थित र संस्थागत रुपमा आमाहरुबाट दान गरिएको दूधको संकलन, प्रशोधन र भण्डारण गरी आवश्यक पर्ने शिशुहरुलाई वितरण गर्नेछ भन्ने लागेको छ ।’