मूल्य बढाउँदा पनि निगमलाई मासिक ६१ करोड घाटा, आइओसीलाई २१ अर्ब तिर्न बाँकी
काठमाडौं, १७ भदौ । बिहीवार मध्यरातदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य बढाएपछि पनि मासिक ६१ करोड घाटा हुने नेपाल आयल निगमको प्रक्षेपण छ । पेट्रोलियम पदार्थ खरिद बापतको रकम समयमा नै भुक्तानी गर्न नसक्दा बक्यौता रकम बढ्दै छ । लामो समयदेखि पेट्रोलियम पदार्थमा भइरहेको नोक्सानीका कारण दैनिक बिक्रीबाट संकलन हुने रकम आइओसीलाई भुक्तानी गर्दा पनि बुधबारसम्म करीब रू. २१ अर्ब तिर्न बाँकी रहेको निगमले जनाएको छ ।
आइओसीको बक्यौता रकम भुक्तानी गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गर्नुपर्ने विषय निगमको लागि चुनौतीपूर्ण रहेको प्रवक्ता विनीतमणि उपाध्यायको भनाइ छ । सञ्चित बचत सकिएपछि पेट्रोलियम पदार्थ खरिद गर्ने पैसा नहुँदा सरकारले गत असार अन्तिममा निगमलाई रू. सात अर्ब ऋण उपलब्ध गराएको थियो । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन निगमले राष्ट्रिय वाणिज्य बैंकबाट समेत रू. तीन अर्ब ऋण लिएको थियो ।
निगमले बिहीबार मध्य रातदेखि नै लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको छ । मूल्य बढेसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रू. १७८ रुपैयाँ पुगेको छ ।