राष्ट्रिय जनगणना–२०७८ को, ९५ प्रतिशत सकियो तथ्यांक प्रशोधन
काठमाडौं, १८ । राष्ट्रिय जनगणना, २०७८ को तथ्यांक प्रशोधनको काम ९५ प्रतिशत सकिएको छ । बाँकी ५ प्रतिशत तथ्यांक प्रशोधनको काम सकेर अन्तिम नतिजा आगामी मङ्सिर अन्तिम हप्ता सार्वजनिक गरिने केन्द्रीय तथ्यांक विभागले बताएको छ ।
जनगणना प्रक्रियाअन्तर्गत यसअघि देशभर खटिएका गणक र सुपरभाइजरबाट संकलित तथ्याङ्क प्रशोधन गर्ने काम करिब अन्तिम चरणमा पुगेको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताए । अब बागमती प्रदेशको भक्तपुर, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन गरी चार जिल्लाको मात्र रहेको उनले बताए ।
विभागले तथ्याङ्क प्रशोधनका क्रममा १२ कक्षा उत्तीर्ण गरी कम्तीमा तीन महिना कम्प्युटर तालिम लिएका ४०० नेपाली नागरिकलाई नियुक्त गरी गत चैत महिनादेखि काम गर्दै आएको छ । प्रत्येक सिफ्टमा २०० जनाका दरले हरेक दिन बिहान ६ः३० बजेदेखि दिउँसो १२ः३० बजेसम्म छ घण्टा र त्यसपछि बेलुका ६ः३० बजेसम्म प्रशोधनको काम विभागको केन्द्रीय कार्यालय, थापाथलीमा भइरहेको छ । पहिलोपटक यसरी विभागमा भएको प्रशोधनको काम आगामी असोज महिनामा सम्पन्न हुनेछ ।
हरेक १० वर्षमा एकपटक हुने जनगणनाको शृङ्खलामा राष्ट्रिय जनगणना, २०७८ नेपालको १२औँ र २०७२ को संविधान जारी भएपछि सङ्घीय गणतान्त्रिक प्रणालीको पहिलो गणना हो ।
विभागले यसअघि भर्चुअल माध्यमबाट गत माघ महिनामा जनगणना, २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसङ्ख्या दुई करोड ८१ लाख ९२ हजार रहेको जनाएको छ । विसं २०६८ मा नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार रहेको थियो ।