अर्थतन्त्रका अधिकांश सूचक अझै पनि कमजोर
काठमाडौं, ३१ भदौ । गत आर्थिक वर्षको शुरुआती केही महीनापछि नै अप्ठ्यारो अवस्थामा पर्न थालेको मुलुकको अर्थतन्त्रमा अझै पनि उल्लेख्य सुधार आउन सकेका छैनन् । विशेषगरी बाह्य क्षेत्रमाथि परेको दबाब उस्तै रहँदा अर्थतन्त्रमा अपेक्षित सुधार आउन नसकेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले देखाएको छ ।
चालू आर्थिक वर्षको पहिलो महिना साउनमा मुलुकको मुद्रास्फीति, शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चिति जस्ता वित्तीय सूचक कमजोर रहेका छन् । जसअनुसार मुद्रास्फीति ८ दशमलव २६ प्रतिशत पुगेको छ भने शोधनान्तर स्थिति २२ अर्ब ६३ करोडले घाटामा छ । विप्रेषण आप्रवाह २० दशमलव ३ प्रतिशतले बढेर ९२ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।
महीनामा विदेशी मुद्रा सञ्चितिमा पनि ह्रास आएको छ । यो महीना कुल विदेशी विनिमय सञ्चिति १ दशमलव ५ प्रतिशतले घटेर ११ खर्ब ९७ अर्ब ८५ करोड कायम भएको छ । यो ९ दशमलव ४ महीनाको वस्तु आयात र ८ महीनाको वस्तु तथा सेवा आयात धान्न मत्र पर्याप्त रहेको छ । यसैगरी आयात १२ दशमलव ९ प्रतिशतले र निर्यात २८ दशमलव ७ प्रतिशतले घटेको छ ।