Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

निर्यातको लक्ष्यसहित स्वदेशी फेशन वेयर प्रवर्द्धन अघि बढ्दै ‘केड’

निर्यातको लक्ष्यसहित स्वदेशी फेशन वेयर प्रवर्द्धन अघि बढ्दै ‘केड’

काठमाडौं, २६ असोज । पछिल्लो समय नेपालमा स्टार्टअप बिजनेशको क्रेज बढ्दो छ । बजार सम्भावना, लगानीमैत्री वातावरण र आफ्नै व्यवसायप्रतिको रुचिले नयाँ व्यवसायमा आउने युवाहरू बढेका हुन् । यस्ता व्यवसायमा विविधीकरण समेत हुँदै गएको छ, जसको एउटा उदाहरण हो– केड ।

नेपालमा फेशन वेयरप्रतिको बढ्दो अभिरुचि र मागलाई स्वदेशकै उत्पादनले परिपूर्ति गर्ने लक्ष्यसहित शुरुआत भएको उक्त फेशन ब्रान्डले नेपाली बजारमा आफ्नो प्रभाव बढाउँदै गएको छ, जसलाई ‘लिड’ गरिरहेकी छिन् गुण समूहकै कान्छी निर्देशक दिप्रिना शाक्य । विदेशमा अध्ययनपछि फर्किएर नेपाल आउँदा आफ्नै मुलुकमा बनेको फेशन सामग्रीको कमी महसूस गरेपछि उनमा आफ्नै ब्रान्ड शुरू गर्ने सोच आएको थियो । त्यसैको उपज थियो– केड ।

‘आफ्नै देशमा उपलब्ध स्रोतसाधनमा आधारित फेशन सामग्रीप्रतिको मोह र रुचिले मलाई आफ्नै ब्रान्ड शुरू गर्ने इच्छा जाग्यो,’ उनले भनिन् । पढाइ र पेशागत हिसाबले फेशनसम्बन्धी अनुभव नभए पनि नेपाली बजारमा ख्यातिप्राप्त फेशन डिजाइनरसँगको सहकार्यमा उनले उक्त ब्रान्ड शुरू गरेकी हुन् ।

केडले मुख्यतः आफ्ना उत्पादनमा गुणस्तरलाई मुख्य प्राथमिकता दिएको छ । साथै सबै वर्ग र तप्काका व्यक्तिले किन्न सक्ने मूल्यमा केडका फेशन वेयर उपलब्ध रहेको कम्पनीका प्रबन्ध निर्देशक समेत रहेकी शाक्यले बताइन् । ‘यति मात्र होइन, हाम्रा उत्पादन सबै उमेर समूहका लागि उपलब्ध छ,’ आफ्नो आवश्यकता र रुचि अनुसार सबैले प्रयोग गर्न सकून् भन्ने कम्पनीको उद्देश्य छ ।’

वास्तवमा फेशन छोटो समयमै परिवर्तन भइरहने क्षेत्र हो । यो यथार्थलाई राम्ररी बुझेको कम्पनीले टिम नै तयार गरेर फेशनको बजार ट्रेन्ड अध्ययन गरी सोही अनुसारको फेशन वेयर उत्पादनमा गर्छ ।

फ्रेन्चाइजमार्फत आफ्ना उत्पादनको बजार विस्तार गर्ने कम्पनीको सोच रहेको छ । हालका लागि दरबारमार्गमा कम्पनीको एक्स्क्लुसिभ शोरूम रहेको शाक्यले जानकारी दिइन् । साथै हालका लागि सोसियल प्लेटफर्मका साथै वेबसाइटमार्फत नेपालभरका उपभोक्ताले केडका फेशन वेयर अर्डर गर्न सक्छन् । यसका लागि कम्पनीले दराजसँग समेत सहकार्य गरेको छ ।

कम्पनीको दीर्घकालीन सोच भने निर्यात प्रवद्र्धन गर्ने समेत रहेको छ । ‘हाल नेपालमा ठूलो परिमाणमा फेशन वेयर आयात हुने गरेको छ,’ शाक्यले भनिन्, ‘आगामी दिनमा हाम्रो पनि लक्ष्य निर्यात गर्ने नै हो ।’ यसले आयात नियन्त्रणमा केही हदसम्म टेवा पुग्ने र समग्रमा अर्थतन्त्रकै लागि सहयोग हुने उनले बताइन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x