महालेखा र लेखा उत्तरदायी अधिकारीहरूबीच छलफल, लेखा परीक्षण चुस्त र व्यवस्थित बनाउनुपर्नेमा जोड
काठमाडौं, ३० असोज । मुलुकका सार्वजनिक निकायहरूको लेखापरीक्षण गर्ने सर्वोच्च निकाय महालेखा परीक्षकको कार्यालयले सम्बन्धित निकायहरूको लेखापरीक्षण चुस्त दुरुस्त एवं व्यवस्थित बनाउन प्रयोजनले समय सामयिक रूपमा विभिन्न कार्यक्रम गर्दै आएको छ । यसै क्रममा कार्यालय आइतवार लेखा परीक्षण सम्बन्धमा लेखा उत्तरदायी अधिकृतहरूसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ । उक्त अवसरमा कार्यक्रम आयोजनाको उद्देश्य र औचित्यबार प्रकाश पार्दै महालेखा परीक्षक टंकमणि शर्मा दंगालले आर्थिक वर्ष २०७८÷७९ को लेखापरीक्षण तर्फ हालसम्म भएका प्रगतिबारे जानकारी गराएका छन् ।
यसैगरी महालेखा परीक्षकको कार्यालयले मुलुकका सार्वजनिक निकायहरूको लेखा परीक्षणसँगै आवश्यक सुधारका विषयमा समेत सुझाव समेत दिने गरेको छ । कार्यक्रममा महालेखा परीक्षक शर्माले लेखापरीक्षणका क्रममा देखिने गरेका कमीकमजोरी एवं समस्याबारे औंल्याउँदै सहजीकरणका लागि आग्रह गरे ।
कार्यक्रममा महालेखाको वार्षिक लेखापरीक्षण प्रक्रिया, यसका चरण एवं सम्बन्धित कार्यालयले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रस्तुतिकरण दिइएको थियो । साथै त्यस क्रममा मुख्य सचिव शंकरदास वैरागीले महालेखाले उठाएका प्रमुख विषयमा गम्भीर हुन सम्बन्धित निकायका पदाधिकारीहरूलाई आग्रह गरे । महालेखाको प्रतिवेदनले मुलुकका सार्वजनिक निकायहरूको बेरुजू वर्षेनि बढ्दै गएको देखाएको छ । बढ्दो बेरुजूले आर्थिक अनुशासनमै प्रश्न उठेको भन्दै मुख्य सचिव वैरागीले यसलाई कम गर्न विगतमा गरिएका प्रतिबद्धता कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
लेखा परीक्षणलाई चुस्त, छिटोछरितो र व्यवस्थित बनाउने महालेखाले सूचना प्रविधिको प्रयोगलाई समेत आत्सात् गरेको छ । कार्यक्रममा कार्यालयका तर्फबाट प्रस्तुति दिँदै नायव महालेखा परीक्षण चन्द्रकान्त भण्डारीले लेखापरीक्षणका लागि कार्यालयले अपनाएको प्रणालीबारे जानकारी दिए । मुख्यतः सार्वजनिक निकायहरूको बढ्दो बेरुजु न्यूनीकरणका लागि भए गरेका प्रयास सन्तोषजनक देखिएका छैनन्, जुन महालेखाको वार्षिक प्रतिवेदनले वर्षेनि इंगित गर्ने गरेको छ ।
कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव सहित अन्य मन्त्रालयका सचिव, सुरक्षा निकायका लेखा अधिकृत लगायत अन्य निकायका लेखा उत्तरदायी अधिकारीहरूको उपस्थिति थियो ।