Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

आन्तरिक पर्यटकको आगमन बढाउन ‘घुमौँ सौराहा’ अभियान

आन्तरिक पर्यटकको आगमन बढाउन ‘घुमौँ सौराहा’ अभियान

काठमाडौं, ३० असोज । चितवनको पर्यटकीय क्षेत्र सौराहाका व्यवसायीले आन्तरिक पर्यटन प्रवद्र्धन अभियानमा थालेका छन् । चाडपर्वमा पनि सौराहामा सुनसान भएपछि व्यवसायीले ‘घुमौं सौराहा’ अभियान सञ्चालन गर्ने तयारी थालेका हुन् । यसअघि कोरोना महामारीका कारण गरिएको लकडाउनपछि यही अभियानका साथ पूर्वका दुई प्रदेशमा व्यवसायी पुगेका थिए । अभियानपछि सौराहामा पर्यटकको संख्या केही बढेको थियो । यस वर्ष पनि चाडपर्व सकिएपछि पुनः घुमौं सौराहा भन्दै देशका सातवटै प्रदेशमा पुग्ने तयारीमा सौराहाका व्यवसायी जुटेका हुन् ।
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले सौराहामा आन्तरिक पर्यटक बढाउन देशव्यापी अभियान सञ्चालन गर्ने तयारी गरेको बताए । उनले यस वर्ष देशका सातै प्रदेश पुग्ने योजना रहे पनि पहिलो चरणमा पाँच प्रदेशमा अभियान सञ्चालन गरिने जानकारी दिए । ‘कोरोनाका कारण भएको लकडाउनपछि प्रदेश १ र मधेश प्रदेशमा अभियान सञ्चालन गरेका थियौं, त्यो प्रभावकारी बन्यो,’ उनले भने । यसपटक देशका सबै प्रदेशमा पुगेर त्यहाँका व्यवसायी, संघसंस्थाका प्रतिनिधि, वुद्धिजीवी, नागरिक समाज र पत्रकारसँग छलफल गर्दै सौराहा घुम्न आउनका लागि निमन्त्रणा दिइने उनले बताए । भट्टराईका अनुसार अभियानका क्रममा यहाँका पर्यटकीय गतिविधिका दृश्य देखाइनेछ । ‘प्रदेश सरकारले घोषणा गरेको बागमती प्रदेश भ्रमण वर्ष अभियानलाई पनि टेवा पुग्नेगरी घुमौं सौराहा’का कार्यक्रम सञ्चालन हुनेछन्,’ उनले भने ।
बागमती प्रदेश सरकारले सौराहामा नै कार्यक्रमको आयोजना गरेर बागमती प्रदेश भ्रमण वर्ष सुभारम्भ गरिसकेको छ । ‘घुमौं सौराहा’ अभियानमा छुट प्याकेजकोसमेत घोषणा गरिने भट्टराईले बताए ।
यो समयमा सौराहाका होटलमा खचाखच पर्यटक हुन्थे । व्यवसायीलाई पर्यटकको स्वागतदेखि निकुञ्ज घुमाउन भ्याइनभ्याइ हुन्थ्यो । यतिबेला सौरामा चाडपर्वका कारण केही चहलपहल बढे पनि सन्तोषजनक नरहेको उनले बताए । ‘अहिले २० देखि ३० प्रतिशत पर्यटक मात्र सौराहा आएका छन्, केही विदेशी पर्यटक पनि छन्,’ उनले भने । मनसुन सकिएको र जाडोयाम शुरू भएसँगै पर्यटकको संख्या बढ्ने अपेक्षा सौराहाका व्यवसायीले गरेका छन् ।
रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल सौराहा (रेबान)का अध्यक्ष नरेश गिरीले सौराहामा पर्यटकको चहलपहल केही बढेको र ‘घुमौं सौराहा’ अभियानले यहाँ आन्तरिक पर्यटक थप बढ्ने अपेक्षा गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x