पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि एनएचपीसीले पायो लाइसेन्स

काठमाडौं, ४ कात्तिक । लगानी बोर्डले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई सम्भाव्यता अध्ययनको लाइसेन्स बिहीबार दिएको छ ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले एनएचपीसीका नायब महाप्रबन्धक अशोक कुमार जोशीलाई अनुमतिपत्र हस्तान्तरण गरेको बोर्डले जनाएको छ ।
लगानी बोर्डबाट लाइसेन्स पाएसँगै एनएचपीसीले आयोजनाबाट आर्थिक लाभ भए नभएको, आयोजना निर्माण गर्दा लाग्ने लागत, वातावरणीय प्रभाव मूल्यांकन, आयोजनामा अधिकतम विद्युत उत्पादन हुन सक्ने सम्भावना लगायतका विभिन्न विषयमा दुई वर्षभित्र अध्ययन गर्ने छ ।
गत २३ जेठको लगानी बोर्डको ५१ औं बैठकले पश्चिम सेती निर्माणको जिम्मा एनएचपीसीलाई दिने निर्णय गरेको थियो ।