Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अमलेखगञ्जमा पेट्रोल ट्याङ्की निर्माण हुने

अमलेखगञ्जमा पेट्रोल ट्याङ्की निर्माण हुने

बारा, २४ मङ्सिर । नेपाल आयल निगमले बाराको अमलेखगञ्जमा पेट्रोल भण्डारणका लागि छुट्टै भण्डारण गृह (ट्याङ्की) निर्माण गर्ने तयारी थालेको छ । विसं २०७६ भदौ २४ गते भारतको मोतिहारीदेखि नेपालको बाराको अमलेखगञ्जसम्म ६९ किलोमिटर ‘मल्टी पाइप लाइन’ विस्तार गरेर डिजेल ल्याउन सुरु गरेको निगमले पेट्रोल भण्डारणका लागि छुट्टै भण्डारण गृह निर्माण गर्ने तयारी थालेको हो । पाइपलाइन विस्तार भएको ६९ किलोमिटर क्षेत्रमध्ये भारतमा ३३ र नेपालमा ३६ किलोमिटर भूभाग पर्दछ । उक्त पाइपलाइन विस्तारका लागि भारतीय आयल निगमले रु दुई अर्ब भारतीय रुपैँया खर्च गरेको थियो ।

एउटै पाइपलाइनबाट पेट्रोल, डिजेल र मट्टितेल ल्याउन मिल्ने भए पनि भण्डारणका लागि छुट्टै भण्डारण गृह नहुँदा पेट्रोल र मट्टितेल पाइपलाइनबाट ल्याउन समस्या भएको थियो । अमलेखगञ्जमा पेट्रोल र मट्टितेलको लागि भण्डारण गृह नहुँदा पाइपलाइनको उपयोग ५० प्रतिशतभन्दा कम भएको छ ।

अमलेखगञ्जमा हाल डिजेल भण्डारणका लागि दुई ४५ लाख लिटरका ट्याङ्की, एक ४१ लाख तथा अर्को ३९ लाख लिटरको ट्याङ्की रहेको छ । उक्त क्षेत्रबाट हाल एकैपटक २१ गाडीले डिजेल भर्न पाउँछन् । पाइपलाइनमार्फत भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म डिजेल ल्याँउदा निगमको वार्षिक रु दुई अर्ब रकम बचत हुँदै आएको छ ।

नेपाल आयल निगम अमलेखगञ्जका प्रमुख इन्जिनियर प्रदीपकुमार यादवले पेट्रोल र मट्टितेल ल्याउनका लागि आयल निगमले छुट्टै भण्डारण गृह बनाउन सुरु गर्न लागेको बताए । ‘पेट्रोल भण्डारण गृह निर्माण गर्नका लागि हामीले भारतीय निर्माण व्यवासायी कम्पनी र भारतीय आयल निगमका प्रतिनिधिसँग निरन्तर छलफल गरिरहेका छौं,’ उनले भने ।

निगमले पेट्रोलको भण्डारण गृह निर्माणका लागि मङ्सिर २३ गते मात्र भारतीय निर्माण कम्पनी र भारतीय आयल निगम पटनाका प्रमुखसँग भेटेर छलफल गरेको छ । पाइपलाइन बनाएर पूर्णरुपमा प्रयोग गर्नका लागि पेट्रोल भण्डारण गृह बनाउन लागिएको इन्जिनियर यादवको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x