Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

लक्ष्यअनुसार राजस्व संकलनका लागि यस्तो छ महानिर्देशक मैनालीका रणनीति

लक्ष्यअनुसार राजस्व संकलनका लागि यस्तो छ महानिर्देशक मैनालीका रणनीति

काठमाडौं, २१ पुस । चालू आर्थिक वर्षको शुरुदेखि नै लक्ष्यअनुसार राजस्व संकलन हुन सकेको छैन । भन्सार तथा आन्तरिक दुवैतर्फको असुली लक्ष्यभन्दा कम छ । अपेक्षित रुपमा राजस्व असुली हुन नसकिरहेको अवस्थामा एक महिनाअघि मात्र आन्तरिक राजस्व विभागको महानिर्देशकको रूपमा दीर्घराज मैनालीले कार्यभार सम्हालेका छन् । यस्तोमा राजस्व संकलनको लक्ष्य भेटाउन करको दायरा विस्तार, कर छली नियन्त्रण, कर नतिर्नेलाई कानूनी कारबाही, राजस्व प्रशासन सुधार लगायत थुप्रै चुनौती महानिर्देशक मैनालीसामु छन् ।

राजस्व संकलनको अवस्था सुधार गर्न विभिन्न सम्बन्धित विभाग तथा कार्यालयहरुलाई सक्रिय तुल्याइएको महानिर्देशक मैनालीले बताए । खासगरी आर्थिक कारोबारलाई पारदर्शी तुल्याउने, बिलिङ सिस्टमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, कर चुहावटका क्षेत्रहरूमा उच्च निगरानी राखेर कर छलीमा शून्य सहनशीलता अपनाउने, छानबिन तथा अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने लगायतका काम शुरू गरिसकेको उनको भनाइ छ ।

यस्तै करदाता शिक्षा तथा सेवालाई विशेष महत्व दिनुका साथै निजीक्षेत्रसँग सहकार्य गर्दै आर्थिक गतिविधि चलायमान हुने किसिमले करदातामैत्री राजस्व व्यवस्थापन गरी अघि बढेको उनले बताए । ‘अन्तःशुल्क लगायतको राजस्व संकलनमा हुन सक्ने विचलन नियन्त्रण गर्न बजार अनुगमन तथा अनुसन्धानका कार्यमा तीव्रता दिएका छौं,’ उनले भने, ‘यसले बिल लिनेदिने प्रणालीमा सुधार आउनुका साथै चुहावट नियन्त्रण गर्न पनि सफल हुने विश्वास छ ।’

यसैगरीी आयातमा हुने विचलन नियन्त्रण गर्ने काम शुरू भइसकेको मैनालीले बताए । चुहावटको नियन्त्रण गर्न संयुक्त रूपमा राजस्व चुहावट नियन्त्रण समिति, अर्थमन्त्रालय तथा अर्थमन्त्रीको नेतृत्वमा बैठक बसेर छलफल समेत गरेको उनले बताए । यसले राजस्व संकलन र आर्थिक गतिविधिमा सुधार हुने दाबी उनले गरे ।

मङ्सिर मसान्तसम्ममा १ खर्ब ५० अर्ब ६० करोड आन्तरिक राजस्व संकलन भएको छ, जुन लक्ष्यभन्दा १३ प्रतिशत कम हो । सो अवधिमा विभागले १ खर्ब ७४ अर्ब ३७ करोड राजस्व असुलीको लक्ष्य राखेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x