पाटा नेपालद्वारा युवा सेफ प्रतियोगिता र कन्टेन्ट राईटिङ्ग प्रतियोगिता सम्पन्न
काठमाडौं २४, पौष। प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले असीमित रचनात्मकता, स्थानीय सामग्रीको प्रयोग तथा स्वास्थ्य र दिगोपन पक्षलाई आत्मसाथ गर्दै “समसामयिक नेपाली पकवान“ शीर्षकमा जनवरी ७ तारेखका दिन राजधानीको रविभवनस्थित नाथम कलेजमा युवा सेफ प्रतियोगिता सम्पन्न गरेको छ ।
मास्टरशेफ सन्तोष शाह, शेफ जितेन प्रधान र शेफ दिनेश होमागाई सम्मिलित विशिष्ट व्यक्तित्वहरुको निर्णायक मण्डलले सहभागी विद्यार्थीहरुको पाक कला र दक्षता को मूल्यांकन गर्नुभएको थियो । निर्णायकहरूले युवा विद्यार्थीहरूले प्रदर्शन गरेको जोश, तयारी, रचनात्मक शैली र नवीन विचारहरूबाट प्रभावित भएको बताए ।
पाटा नेपाल च्याप्टरमा आबद्ध पाँच प्रमुख होटल व्यवस्थापन सदस्य शैक्षिक संस्थाहरु–आईएसटी, गेट, जीसीआई, प्रिमियर होटेल स्कुल र नाथम को प्रतिनिधित्व गर्दै भविष्यमा नेपाली शेफ बन्न चाहने उत्कृष्ट १० विद्यार्थीहरूले प्रतियोगितामा भाग लिएका थिए। उनीहरुले नेपालको विविध संस्कृति र क्षेत्रहरूबाट केही स्वादिष्ट एवम् मौलिक नेपाली व्यञ्जनहरूलाई प्रोफेशनल पाक कला र नयाँ रचनात्मक शैलीका साथ प्रस्तुतीकरण गरे ।
ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेशन (गेट) मा अध्यनरत श्रवण राई र रेश्मा श्रेष्ठले विजेताको रुपमा पाटा युवा पर्यटन प्रोफेशनल शेफ प्रतियोगिताको उपाधि हात पारे। त्यसैगरी, नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट–नाथम प्रतिनिधित्व गर्दै प्रसुन कुमार र बिजेन बिडारी प्रथम उपविजेता र प्रिमियर होटल स्कूल–पीएचएस प्रतिनिधित्व गर्दै राहुल धमला र सुश्री शेर्या कान्डङवा द्वितीय उपविजेता घोषित भए । प्रतियोगितापछि मास्टरसेफ सन्तोष शाह र शेफ जितेन प्रधानले सहभागी विद्यार्थीहरूको लागि संक्षिप्त “मेंटरसिप सेशन“ समेत सञ्चालन गरेका थिए।
त्यसैगरी, सोही दिन आयोजना गरिएको कन्टेन्ट राईटिंग प्रतियोगितामा नाथम कलेजकी छात्रा आश्मा कुमारी थापा प्रथम बनेकी छिन भने ग्लोबल कलेज ईन्टरनेशनल की छात्रा आश्मा आलेमगरले द्वितीय तथा मिडभ्याली ईन्टरनेशनल कलेज का छात्र मुकुल सुबेदीले तृतीय स्थान हासिल गरेका छन ।
स्वागत मन्तव्य राख्दै पाटा नेपाल च्याप्टरका कोषाध्यक्ष श्री खेम लकाईले पाटाको यस पहलले दीर्घकालीन रूपमा भविष्यका नेपाली शेफहरू निर्माण गर्ने अभियानका साथै नेपाललाई आथित्यता, संस्कृति र खानाकालागि उत्कृस्ट गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने अभियानमा समेत उल्लेखनीय सहयोग पुग्ने बताउनुभयो। साथै, वहाँले पाटाको “युवा पर्यटन प्रोफेशनलहरुसँग सहकार्य तथा संलग्नता“ नेपालको पर्यटन र आतिथ्य उद्योगमा भाबी नेतृत्वकर्ताहरुको निर्माणका लागि प्राथमिक अभियान रहेको बताउनुभयो ।
नेपाल उद्योग परिषंघका महानिर्देशक श्री दीपकराज जोशीले कन्टेन्ट राईटिंग प्रतियोगिता“ को निर्णायकको रूपमा, “रिथिन्किंग टुरिज्म“ विषयमा लेखन प्रतियोगिता केन्द्रित रहने बिषय घोषणा गर्दै सहभागी विद्यार्थीहरूबीच केही आधारभूत नियम र सुझावहरू पेश गर्नुभयो ।
पाटा युथ ट्यालेन्ट क्वेस्ट पाटा नेपाल स्टुडेन्ट च्याप्टर सदस्यहरु तथा पाटा नेपाल च्याप्टरमा आवद्ध सदस्य शैक्षिक संस्थाहरुमा हस्पिट्यालिटी तथा पर्यटन विषयमा अध्ययनरत विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतालाई प्रतिस्पर्धा मार्फत प्रस्फुटित गराउने तथा नेपाली पर्यटन क्षेत्रमा भावी सबल पर्यटन जनशक्तिको खोजमुलक अभियानको रुपमा आयोजना हुने वार्षिक कार्यक्रम हो । सो कार्यक्रम प्रतिभावान यूवा पर्यटन विद्यार्थीहरुको पहिचान गर्ने र आवश्यक तालिम, सल्लाह–सुझाव र अवसरहरु प्रदान गरी उनीहरुको ज्ञान शीप र क्षमता अभिवृद्धि एवम सशक्तिकरण गर्नुका साथै पर्यटन क्षेत्रमा सफल भविष्य निर्माणका लागि अभिप्रेरित गर्ने एक प्रेरणादायक मञ्च बनेको छ ।