Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नारायणगढ–बुटवल सडक : चार वर्षमा २५ प्रतिशत काम

नारायणगढ–बुटवल सडक : चार वर्षमा २५ प्रतिशत काम

नवलपुर, २५ माघ । पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडक खण्डको काम चार वर्ष पूरा हुँदा २५ प्रतिशत मात्रै पूरा भएको छ । विसं २०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडसँग ठेक्का सम्झौता भएर सुरु सडक विस्तारको प्रगति चार वर्षमा २५ प्रतिशत मात्रै सकिएको आयोजनाले बताएको छ ।
नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वीखण्ड प्रमुख इन्जिनियर रमेशकुमार दिष्टीका अनुसार गत साउन २२ मा सडक विस्तारको काम सक्नुपर्नेमा विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले तीन सय ८६ दिन म्याद थप गराएको छ । ‘सडक विस्तारको काम सक्नुपर्ने समयसम्म १८ प्रतिशत भौतिक प्रगति देखिएको थियो,’ इन्जिनियर दिष्टीले भने, ‘म्याद थप भएको ६ महीनामा थप सात प्रतिशत भौतिक प्रगति भएको छ ।’ अहिले सडक विस्तारका लागि सबै प्रकारका काम भइरहेको उनले बताए ।

नारायणगढ–बुटवल सडक विस्तार योजनाको पूर्वीखण्डका सूचना अधिकारी इन्जिनीयर धिरज ढकालले अहिले व्यवस्थित तरीकाले सडक विस्तारको काम भइरहेको बताए । ‘अहिले यस खण्डमा कल्भर्ट निर्माण, साना पुल निर्माण, ठूला पुल निर्माण भइरहेका छन्,’ उनले भने, ‘गैंंडाकोटको भेडाबारी क्षेत्रमा करीब एक किलोमिटर क्षेत्रमा अस्फाल्टको काम गरिएको छ ।’ भेँडाबारी क्षेत्रमा एकतर्फी अक्स्पाल्टको काम भइरहेको भन्दै उनले सबबेस (कालोपत्र गर्नुपूर्वको अवस्था)को काम एकतर्फी १४ किलोमिटर क्षेत्रमा सकिएको बताए ।

सडक विस्तारको कामसँगै सडक विस्तारका लागि सडक किनारमा रहेका अवरोधहरु हटाउने काम भइरहेको उनको भनाइ छ । ‘सडक मापदण्डमा पर्ने दाउन्ने क्षेत्रका २५ ओटाबाहेक सम्पूर्ण रूख कटानको काम सकिएको छ,’ इन्जिनियर ढकालले भने, ‘बिजुलीको पोल सार्ने काम पनि ३५ प्रतिशत सकिएको छ ।’ सडक विस्तारका लागि २७ किलोमिटर क्षेत्रफलमा बिजुलीको पोल सारेर सकिएको जानकारी दिँदै ढकालले खानेपानीको पाइप सार्ने काम अन्तिम चरणमा पुगेको बताए । यस सडकको पूर्वीखण्डमा ९३ ओटा कल्भर्टको निर्माण सम्पन्न भइसकेको भन्दै ढकालले ४८ ओटा कल्भर्ट निर्माण भइरहेको जानकारी दिए । ‘पूर्वीखण्डमा २२ ओटा माइनर ब्रिज (साना पक्की पुल) निर्माण हुनुपर्नेमा १२ ओटाको निर्माण सम्पन्न भइसकेको छ, पाँचओटामा निर्माण भइरहेको छ भने दुईओटामा काम हुनै बाँकी छ,’ उनले भने । साना फलामे पुल र ठूला पुल दुई लेनका मात्रै भएकाले ती पुल विस्थापित गर्नेगरी चार लेनमा नयाँ पुल निर्माणको काम सडक विस्तारसँगै भइरहेको हो ।

सूचना अधिकारी ढकालले हासम्म योजनाको भौतिक प्रगति करीब १८ दशमलव ७ प्रतिशत भएको जानकारी दिए । ढकालका अनुसार सडक विस्तारका लागि पूर्वी खण्डमा रू. एक अर्ब ७१ करोड ३६ लाख खर्च भएको छ । यस खण्डको कुल बजेट रू. ९ अर्ब १५ करोड ७२ लाख ४६ हजार रहेको छ, जसमध्ये ८५ प्रतिशत ऋण सहयोग एसियाली विकास बैंक (एडिबी)ले उपलब्ध गराउनेछ । सडक निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका कन्ट्र्याक्ट म्यानेजर (ठेक्का व्यवस्थापक) राजेश झाले प्रतिमहीना तीन प्रतिशतभन्दा बढी प्रगति भेट्नेगरी काम गरिरहेको बताए । ‘अहिले हाम्रो साइटमा दैनिक एक हजारभन्दा बढी कामदारले काम गरिरहेका छन्,’ उनले भने, ‘यो आर्थिक वर्षमा आयोजनाको ५० प्रतिशत प्रगति हुने गरी काम भइरहेको छ ।’

नारायणगढ–बुटवल खण्डको एक सय १४ किलोमिटरमध्ये पूर्वीखण्डमा ६५ किलोमिटर सडक पर्दछ । यस खण्डको सहरी क्षेत्रमा चार लेन सडकको अतिरिक्त १७ दशमलव ४ किलोमिटर सडकमा सर्भिस लेन निर्माण गरिनेछ भने दाउन्नेको ४ दशमलव १ किलोमिटर उकालोमा तीन लेनको सडक विस्तार हुनेछ । सडक विस्तारका लागि ३६ हजार दुई सय ३२ रूख काटिँदै छन् । रासस

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x