महासंघको ५७ औँ साधारणसभा: आर्थिक समृद्धिको लागि सरकार र निजी क्षेत्रको समन्वय आवश्यक
काठमाडाें, २८ चैत । नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ साधारणसभा सुरु भएकाे छ । आज होटल याक एण्ड यतीमा उक्त समाराेहकाे उद्घाटन गरीएकाे हाे । महासंघका पदाधिकारीको चुनाव भने २९ चैतमा प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।
महासंघको ५७औं वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न विभिन्न निकायसँग निरन्तर छलफल गरिरहेको बताएका छन् । भूकम्प, कोरोना, रूस र युक्रेन युद्धलगायतको असरका कारण अर्थतन्त्र दबाब परेको प्रधानमन्त्री प्रचण्डले त्यसको समाधानका लागि सरकार सबै क्षेत्रसँग समन्वय र सहकार्यका लागि तयार रहेको बताए ।
यस्तै अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रले व्यापारमा भन्दा उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न जरुरी भएको बताए । अर्थमन्त्री डा. महतले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि निजी क्षेत्रले व्यापारमा मात्रै नभई उद्योग व्यवसायमा लगानी केन्द्रित गर्नुपर्ने आवश्यकता औंल्याए।
यस्तै उनले अन्तर्राष्ट्रिय स्तरमा भइरहेका युद्धको प्रभाव नपरे नेपालको आर्थिक वृद्धि ४ प्रतिशत भन्दा माथि हुने बताउँ अन्तर्राष्ट्रिय परिस्थिति राम्रो र युद्धको अन्त्य हुनसके नेपालको आर्थिक विकास, रूपान्तरण, पुँजी विकास र उद्योग व्यवसायमा लगानीका समस्या समाधान गरी अर्थतन्त्रमा सकारात्मक सुधार हुने विश्वास समेत व्यक्त गरे ।
यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आर्थिक समृद्धिको लागि सरकार र निजी क्षेत्रको समन्वय आवश्यक रहेको बताए । यसका लागि उनले सरकारलाई वैदेशिक लगानी भित्र्याउन र निर्यात बढाउन आग्रह गरे ।
यस्तै नेपालका उद्योगहरू नाफामा हुँदा पनि नयाँ लगानीकर्ता आकर्षित हुन नसकेको भन्दै उनले यसको कारण खोज्नुपर्ने बताए । वैदेशिक लगानी भित्र्याउन सरकार उदार बन्नुपर्ने उनकाे तर्क थियाे ।
यस्तै महासंघले आफ्ना सदस्यहरूमध्ये सबैभन्दा बढी कर बुझाउने कम्पनीहरूलाई उत्कृष्ठ करदाताको रुपमा सम्मान गरेको छ। सम्मानित हुनेमा निर्यात कारोबारमा सबैभन्दा बढी आयकर बुझाउने शिवशक्ति घ्यू उद्योग प्रालि, बैंक तथा वित्तीय संस्थामा सबैभन्दा बढी आयकर बुझाउने नबिल बैंक पर्यट सेवामा सबैभन्दा बढी आयकर बुझाउने मनकामना दर्शन प्रालि, बस्तु व्यापारमा सबैभन्दा बढी आयकरबुझाउने हंसराज हुलास चन्द एण्ड कम्पनी मध्यस्तर करदाताबाट सबैभन्दा बढी आयकर बुझाउने नेपाल स्टक लिमिटेड रेमिटेन्स कम्पनीमा सबैभन्दा बढी आयकर बुझाउने आइएमई लिमिटेड, शिक्षा सेवामा बढी आयकर बुझाउने नोबेल मेडिकल कलेज
विशेष उद्योग तर्फबाट बढी आयकर बुझाउने राजेश मेटल उद्योग, सबैभन्दा बढी अन्तशुल्क तिर्नेमा सूर्य नेपाल प्रालि र सबैभन्दा बढी मूल्य अभिवृद्धिकर तिर्नेमा गोर्खा ब्रुअरी प्रालि रहेका छन् ।