नेपाल कृषि अनुसन्धान परिषद् ३२ औं वर्षमा प्रवेश
काठमाडाैं, २५ वैशाख । नेपाल कृषि अनुसन्धान परिषद्ले आफ्नो स्थापनाको ३१ वर्ष पुरा गरी ३२ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल कृषि अनुसन्धान परिषद्का कार्कारी निर्देशक डा दीपक भण्डारीले बढ्दो खाद्यान्नको माग तथा आकासिँदो आयातलाई न्यूनीकरण एवं प्रतिस्थापन गर्न कृषि उत्पादन र उत्पादकत्त्वलाई उल्लेखनीय रूपमा बृद्धि गर्नको लागि कृषि अनुसन्धानलाई सबल, आधुनिक र प्रभावकारी बनाउनुको बिकल्प नरहेकाे बताए ।
भविष्यको कृषि जगत, नवप्रवर्तन, नव(अनुसन्धान, आधुनिक उपकरण तथा प्रबिधिहरुको प्रयोगले मात्र द्रुत गतिमा अघि बढ्न सक्छ भन्ने तथ्यलाई सम्पूर्ण सरोकारवालाहरुले आत्मसात गर्न सक्नु पर्ने उनले बताए ।
परिषद्को सशक्तिकरणको बाटोमा आइरहने चुनौतीहरूको सामना गर्न हाम्रा सम्पूर्ण कर्मचारीहरूलाई अझै बढी लगनशील, एकजुट र प्रतिबद्ध भै कार्य क्षेत्रमा लागि रहन समेत अनुरोध गरे ।
परिषद्ले देशको आवश्यकता अनुसारको खेती प्रणाली तथा बालीबस्तुहरूमा अनुसन्धान गरी स्थानीय आवहवा सुहाउँदो प्रविधिहरुको विकास गरेर कृषि उत्पादन र उत्पादकत्त्व बृद्धिमा उल्लेखनीय योगदान पुऱ्याउदै आएको छ । हालसम्म परिषद्ले विभिन्न बालीनालीका ७०० भन्दा धेरै जातहरू विकास गरी उन्मोचन तथा दर्ता सिफारिस गरेको छ । यसका साथै विभिन्न बालीबस्तुका उत्पादन तथा व्यवस्थापन प्रविधिहरू, भौगोलिक अवस्था सुहाउँदो साना कृषि औजारहरु, जलवायु परिवर्तनका नकारात्मक असरहरुलाई न्यूनीकरण गर्ने प्रविधिहरु, जैविक बिबिधता संरक्षण तथा पोषण सुरक्षामा टेवा दिने प्रबिधिहरु आदि सिफारिस गर्दै आएको छ ।