९ महीनामा भित्रियो ९ खर्ब ३ करोड विप्रेषण
काठमाडौं, २७ वैशाख । चालू आर्थिक वर्षको ९ महीनामा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले वृद्धि भई रु.९०३ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले वृद्धि भई ३,८७,८३९ पुगेको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५.५ प्रतिशतले वृद्धि भई २,१७,९५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९९.९ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर २२.८ प्रतिशतले वृद्धि भई रु.९९६ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.४ प्रतिशतले घटेको थियो ।