हिमालयन बैंक गल्फ प्रतियोगिता २०२३ आयोजना हुँदै
काठमाडाैं, १८ जेठ । हिमालयन बैंक गल्फ प्रतियोगिता २०२३ आयोजना हुने भएको छ । हरेक वर्ष झै यस वर्ष पनि हिमालयन बैंकले यहि जेठ १९ र २० गते रोयल नेपाल गल्फ कोर्स, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गल्फ प्रतियोगिता आयोजना गर्न लागेकाे हाे ।
उक्त प्रतियाेगिता विनर मेन्स, रनरप मेन्स, ग्रस विनर, लेडिज विनर, लेडिज रनरप, सिनियर विनर, सुपर सिनियर विनर, जुनियर विनर लगायत २० विधामा हुन लागेकाे पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ । प्रतियाेगितामा हिमालयन बैंकबाट पनि ८ जना प्रतिनिधि सहभागि हुनेछन् भने जम्मा १२० जना खेलाडी रहने छन् ।
गेस्ट र युवासहितको ६० खेलाडीले शुक्रबार प्रतिस्पर्धा गर्नेछन् भने बाँकीले शनिबार खेल्ने छन् । धेरै खेलाडीले सहभागिताका लागि अनुरोध गरे पनि १ सय २० खेलाडीभन्दा बढी खेलाउन नसकिने आरएनजीसीका सचिव कृष्णकुमार अग्रवालले बताए । खुल्लातर्फ आरएनजीसीका सदस्यहरुले खेल्ने छन् ।
प्रतियोगिता स्टेबल फोर्ड ३/४ संरचनामा खेलिने छ । हिमालयन बैंकका प्रमुख व्यवस्थापक जयेन्द्रविक्रम शाहले प्रतियोगिता बैंकको नियमित इभेन्ट भएको जनाए । आरएनजीसीका क्याप्टेन मिथुन राईले प्रतियोगिताका लागि आरएनजीसी तयार रहेको जनाए ।