पुँजीगत लाभकर गणना विवादले सेयर लगानीकर्ता आन्दोलित
काठमाडौं, २२ जेठ । पुँजीगत लाभकर गणनामा आन्तरिक राजस्व विभागले नयाँ नियम लागू गरेपछि पुँजी बजारका लगानीकर्ता आन्दोलित भएका छन् । उनीहरुले सेयर ब्रोकरहरुलाई कारोबार बन्द गर्न आग्रह समेत गरेका छन् । यद्यपि स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष प्रियराज रेग्मीले कारोबार रोक्ने या नरोक्ने भन्ने सम्बन्धमा यकिन भैनसकेको बताए ।
आन्तरिक राजस्व विभागले आइतबारपरिपत्र जारी गरी हकप्रद र बोनस सेयरमा चुक्ता मूल्य (सय रुपैँया) र बिक्री मूल्यबीच जतिसुकै अन्तर भएपनि त्यसमा ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था गरेको थियो । यसअघि भने बुक क्लोजर अघिको सेयरको मूल्यमा हकप्रद सेयरको चुक्ता मूल्य जोडेर बिक्री गरेको सेयर संख्याले आउने भागफललाई बिक्री मूल्यले घटाएर आएको रकममा मात्र पुँजीगत लाभकर तिर्नुपथ्र्यो । बजारमा सेयरको आपूर्ति बढेर सेयरको भाउ घटिरहेका बेला चुक्ता मूल्य (सय रुपैँया) मा सेयरको बिक्री मूल्य घटाएर पुँजीगत लाभकर तिर्दा दोस्रो बजारबाट सेयर किन्नेहरुको नोक्सानी अझै बढ्ने भन्दै लगानीकर्ता आन्दोलित भएका हुन् ।
आन्दोलित लगानीकर्ताले सोमबार अर्थमन्त्रालय आर्थिक नीति विश्लेषण महाशाखाका सहसचिव उत्तरकुमार खत्रीसँग वार्ता गरेका थिए । तर समाधान केही ननिस्केपछि उनीहरु आन्दोलित भएका हुन् । अर्थमन्त्रीले बजेट प्रस्तुत गरेयता सेयरबजार परिसूचक झण्डै पाँच प्रतिशतले ओरालो लागेको छ । आन्दोलित लगानीकर्ताले आज राजस्व सचिव शिशिरकुमार ढुंगानालाई भेटेर छलफल गर्ने बताएका छन् ।