यी हुन् पैसा राख्दा बढी ब्याजदर पाइने ५ वाणिज्य बैंकहरू, कसकाे कति ?
काठमाडाैं, २ साउन । साउन १ गतेबाट लागुहुने गरी वाणिज्य बैंकहरूले नयाँ ब्याजदर लागु गरेका छन् । नेपाल बैंकर्स संघले सबै वाणिज्य बैंकहरूकाे ब्याजदर एकै राख्न लामो समयदेखि गरेकाे भद्र सहमति ताेडेसँगै बैंकहरूले आ–आफ्नै हिसाबले ब्याजदर सार्वजनिक गरेका हुन् ।
असार अन्तिममा बसेको संघको पूर्ण बैठकले भद्र सहमति खारेज गरेर बैंकहरुले स्वतन्त्ररुपमा ब्याज निर्धारण गर्न पाउने ब्यवस्था गरेसँगै साउन १ गतेदेखि लागु हुने गरी वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । उक्त ब्यवस्था अनुसार ९ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने ५ वाणिज्य बैंकहरूले ब्याजदर बढाएका छन् । यस्तै ५ वाणिज्य बैंकहरूकाे ब्याजदर स्थिर छ ।
यस महिना सबैभन्दा बढी ब्याजदर बढाउनेमा एनएमबी, एनआइसी एसिया, प्राइम, नबिल र कुमारी बैंक रहेका छन् । नबिल बैंकले व्यक्तिगत व्याजदर(मुद्दति निक्षाेप) २ वर्षभन्दा माथिकाेमा १० दशमलव ४९ प्रतिशत बनाएकाे छ भने संस्थागत ब्याजदर ८.४९ पुर्याएकाे छ । यस्तै नआइसी एसिया र प्राइम बैंकले व्यक्तिगत ब्याजदर १०.९३ र संस्थागत ९.९३ प्रतिशत कायम गरेकाे छ । र कुमारी बैंकले व्यक्तिगत ब्याजदर ५ वर्षभन्दा माथिकाेमा १०.०१ र संस्थागत व्याजदर ७.५१ कायम गरेकाे छ ।
यस्तै कम व्याज दिने ९ वाणिज्य बैंकहरूमा सानिमा, कृषि विकास, एभरेष्ट, प्रभु, सिद्धार्थ, माछापुच्छ्रे, राष्ट्रिय वाणिज्य, नेपाल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् । जसमा सानिमा बैंकले व्यक्तिगत तर्फ ९.५२ प्रतिशत र संस्थागत तर्फ ७.५२ प्रतिशत कायम गरेकाे छ । यस्तै कृषि विकास बैंकले व्यक्तिगत तर्फ ९.५१ र संस्थागत तर्फ ७.५१ प्रतिशत व्याजदर कायम गरेकाे छ । यस्तै एभरेष्ट, प्रभु र सिद्धार्थ बैंककाे व्यक्तिगत तर्फ ९.५ र संस्थागत तर्फ ७.५, प्रतिशत कायम गरीएकाे छ । यस्तै माछापुच्छ्रे बैंककाे व्यक्तिगत तर्फ ९ प्रतिशत र संस्थागत तर्फ ६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंककाे व्यक्तिगत तर्फ ८.९९ प्रतिशत र संस्थागत तर्फ ६.९९ प्रतिशत कायम भएकाे छ । यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंककाे व्यक्तिगत तर्फ ८.९५ प्रतिशत र संस्थागत तर्फ ६.९५ प्रतिशत कायम भएकाे छ ।
यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आइएमई, लक्ष्मी सनराइज, नेपाल एसबिआई र सिटिजन्स बैंकले व्यक्तिगत तर्फ ९.९९ र संस्थागथ थर्फ ७.९९ प्रतिशत व्याजदर कायम गरेका छन् । यी ५ वाणिज्य बैंकहरूकाे ब्याजदर स्थिर रहेकाे छ ।