Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

हरित निक्षेप तथा कर्जा योजना ल्याउँदै विकास बैंक, के हो हरित बैंकिङ ?

हरित निक्षेप तथा कर्जा योजना ल्याउँदै विकास बैंक, के हो हरित बैंकिङ ?

काठमाडौं, ३ साउन । पछिल्लो समय जलवायु परिवर्तन र यसले उत्पन्न गर्ने असरहरू विश्वव्यापी चासो र चिन्ताको विषय बनेको छ । जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि विश्वका सबैजसो मुलुकले संघर्ष गरिरहेका छन् । यस्तोमा पछिल्लो समय ग्रीन फाइनान्सिङ अर्थात् हरित वित्तबारे ठूलो बहस हुनुका साथै यसको कार्यान्वयन समेत अघि बढेको छ । नेपालमा पनि यसको अभ्यास शुरू हुँदै गरेकोमा विकास बैंकहरूले दुई विशेष योजना नै ल्याउने निर्णय गरेका छन् ।

विकास बैंकहरूले दिगो विकासमा योगदान दिने उद्देश्यले ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ ल्याउने भएका हुन् । हाललाई उत्पादनमूलक करीब एक दर्जन क्षेत्रमा गरिने लगानीलाई हरित कर्जा योजनामा समेट्ने निर्णय डेभलपमेण्ट बैंकर्स एशोसिएशन नेपालको कार्यसमितिले गरेको छ, जसमा कृषिजन्य उद्यम, वनजन्य उद्यम, जलविद्युत्, सौर्य ऊर्जा, जैविक ऊर्जा, वायु ऊर्जा, केवलकार÷रोपवे, विद्युतीय सवारीसाधन र फोहोरपानी प्रशोधन गर्ने उद्यम लगायत रहेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरूको लगानी तुलनात्मक रूपमा कम उत्पादनशील क्षेत्रमा बढ्दै गएकाले उत्पादनमूलक र दिगो विकासमा टेवा दिने क्षेत्रमा कर्जा बढाउने उद्देश्यले ‘हरित कर्जा योजना’ ल्याउने निर्णय डेभलपमेण्ट बैंकर्स एशोसिएशन नेपालले गरेको हो ।

हरित कर्जा योजनामा गरिने लगानीका लागि विस्तारै स्रोतको सुनिश्चतता पनि गर्दै जाने उद्देश्यले ‘हरित निक्षेप योजना’ पनि ल्याइने भएको छ । ‘हरित निक्षेप योजना’मा अन्य बचत र मुद्दती निक्षेपमा भन्दा शून्य दशमलव २५ प्रतिशत अंकले बढी ब्याज प्रदान गरिनेछ । यस्तै ‘हरित कर्जा योजना’मा अन्य सोही प्रकृतिको कर्जा योजनामा भन्दा शून्य दशमलव २५ प्रतिशत अंकले कम ब्याजमा कर्जा प्रवाह गर्नेगरी कर्जा योजनाको ‘प्रडक्ट पेपर’ विकास गरिने भएको छ ।

संस्थाका सदस्य बैंकहरूले आ–आफ्ना बैंकको व्यावसायिक रणनीति अनुसार अझ बढी सुविधा दिनेगरी प्रडक्ट पेपरलाई विकास गर्न सक्ने निर्णय पनि गरिएको छ । कार्बन उत्सर्जन गर्ने र जलवायु परिवर्तनलाई असर गर्ने कुनै पनि उद्योग÷व्यवसायले हरित कर्जा सुविधा लिन नपाउने संस्थाले बताएको छ । आ–आफ्ना बैंकका सञ्चालक समितिबाट प्रडक्ट पेपर स्वीकृत गराई ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ बजारमा ल्याउन संस्थाले आफ्ना सदस्य बैंकहरूलाई परिपत्र जारी गरिसकेको बताइएको छ ।

के हो हरित बैंकिङ ?
आर्थिक वृद्धि हासिल गर्ने क्रममा विभिन्न व्यावसायिक उद्योग, परियोजना र अन्य विविध आर्थिक क्रियाकलापमा लगानीको मुख्य स्रोत बैंकिङ क्षेत्र हो । यसरी लगानी गर्ने क्रममा बैंकिङ क्षेत्रले सो लगानीलाई वातावरणमैत्री, सामाजिक रूपले उत्तरदायी बनाउँदै आर्थिक वृद्धि दर र आर्थिक विकासलाई दिगो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । बैंक तथा वित्तीय संस्थाहरू आफैमा प्रत्यक्ष रूपमा वातावरण प्रदूषक नहुन सक्छन् । तर तिनीहरूले विभिन्न उद्योगधन्धा, कम्पनी, परियोजनामा गर्ने लगानी र बैंकिङ सम्बन्धले वर्तमान र भावी समयमा वातावरण प्रदूषण गर्ने काम गरिरहेका हुन्छन् । त्यसैले बैंकिङ क्षेत्रको बाह्य क्रियाकलापले वातावरणीय क्षति सृजना गरिरहेको हुन्छ, जसले विकासलाई दिगो हुन दिइरहेको हुँदैन । यस्तोमा अहिले दिगो आर्थिक विकासका लागि वातावरणीय स्वच्छता प्रवद्र्धन गर्ने आर्थिक क्रियाकलाप सञ्चालनको खाँचो महसूस भएको छ । यसका लागि वातावरणमैत्री बैंकिङ हुनु जरुरी छ । यसै अवधारणालाई हरित बैंकिङ भनिन्छ ।

बैंक, लघु वित्त, बीमा तथा अन्य लगानी गर्ने बैंकहरू जस्ता सरकारी, गैरनाफामूलक तथा निजी वित्तीय संस्थाहरू मार्फत समेत दिगो विकासका लागि गरिने लगानीलाई बृहद् अर्थमा हरित बैंकिङको रूपमा बुझ्न सकिन्छ । दिगो विकासको एउटा प्रमुख अनिवार्य तत्वका रूपमा वातावरणीय व्यवस्थापन पनि पर्ने भएकाले नै यस्तो खालको लगानी वा वित्तपोषणलाई हरित बैंकिङ भनिएको हो । हरित बैंकिङले वातावरणीय मात्र होइन, सामाजिक जोखिमहरूको समेत व्यवस्थापनमा समेत टेवा पु¥याउने भएकाले यसको सामाजिक महत्व समेत रहेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x