Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

प्रिमियम मूल्यमा माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन खुला

प्रिमियम मूल्यमा माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन खुला

काठमाडौं, १० भदौ । माण्डु हाइड्रोपावर लिमिटेडले आज (आइतबार) देखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बिक्री तथा बाँडफाँट गरिसकेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ बिक्री गर्न लागेको हो ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा विक्री हुन नसकेको ७९ हजार ३० कित्ता समेत जोडेर कम्पनीले सर्वसाधारणमा आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम बापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

कम्पनीले २८ हजार ८५३ कित्ता कम्पनीका कर्मचारीहरूका लागि र ७२ हजार १३३ कित्ता सामूहिक लगानी कोषहरूमा समेत बाँडफाँट गरी १२ लाख ५ हजार ३२० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।

यो आईपीओ बिक्री अवधि भदौ १३ गतेसम्मका लागि तोकिएको छ भने सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भदौ २४ गतेसम्म बिक्री लम्बिनेछ । तर, पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्ने गरेको छ ।

लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले पूरा गर्नेछ ।

बिक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत समेत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।

आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा ईक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी मानिने ईक्रा एनपी इस्यूअर त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ ।

कम्पनीले मकवानपुरमा २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत् आयोजना निर्माण गरेको छ । उक्त आयोजनाबाट २०७५ चैत १९ गतेदेखि व्यापारिक उत्पादन शुरू भएको हो । उक्त आयोजनाको कुल निर्माण लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार रुपैयाँ छ भने प्रतिमेगावाट औसत लागत १८ करोड २७ लाख रुपैयाँ छ ।

आर्थिक वर्ष २०७८/७९ को वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी २२ रुपैयाँ शून्य १ पैसा रहेको । उक्त अवधिसम्म प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ४२ पैसा रहेको छ । त्यस्तै सो अवधिमा कम्पनी दुई करोड ९३ लाख रुपैयाँ सञ्चित नाफामा रहेको छ । आर्थिक वर्ष २०८१/८२ मा कम्पनी नौ करोड २३ लाख रुपैयाँ नाफामा पुग्ने प्रक्षेपण गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x