खानेपानी संकटसँग जुध्न वारुणयन्त्रको सहारा: मधेश सरकारको राहत अभियान वीरगञ्जमा सक्रिय

काठमाडाैं, ३२ असार । वीरगञ्ज र आसपासका क्षेत्रमा चरम रूपमा देखिएको खानेपानी संकटलाई सम्बोधन गर्न मधेश प्रदेश सरकारले आफ्नो आपतकालीन संयन्त्र सक्रिय बनाएको छ। संकटग्रस्त क्षेत्रहरूमा प्रत्यक्ष राहत पुर्याउने उद्देश्यले प्रदेश सरकारले बुधबार बिहान ८ वटा वारुणयन्त्र परिचालन गरेको छ।
मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगञ्जबाट वारुणयन्त्रहरू प्रभावित क्षेत्रमा पठाउँदै प्रदेश सरकार नागरिकको समस्याप्रति समर्पित रहेको सन्देश दिएका छन्। “सुक्खा र खानेपानी संकटका कारण पिडित नागरिकसँग प्रदेश सरकार साथमा छ,” उनले भने, “संघीय सरकार, स्थानीय तह र दातृ निकायहरूसँग समन्वय गरी हामी उपलब्ध सबै साधनस्रोत प्रयोग गर्दैछौं।”
प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार परिचालित ८ वटा वारुणयन्त्रमध्ये प्रत्येकको क्षमताले एकै पटकमा ५ हजार लिटर पानी ढुवानी गर्न सक्ने हुँदा जम्मा ४० हजार लिटर पानी वितरण सम्भव भएको प्रदेश सरकारको दाबी छ।
यी वारुणयन्त्रहरू २४ घण्टा संचालनमा राखिनेछ, जसको व्यवस्थापन प्रदेश सरकारले गर्नेछ भने सञ्चालनको जिम्मा नेपाली सेनालाई दिइएको छ। सरकारको प्राथमिकता तत्काल राहत र दीर्घकालीन समाधान दुवैमा केन्द्रित रहेको छ।
यसअघि पनि प्रदेश सरकारले वन कार्यालयका ३ वटा ट्याङ्कर प्रयोग गरी प्रभावित क्षेत्रमा खानेपानी पुर्याउँदै आएको थियो। अब भने नेपाली सेनाको सहयोगमा थप ७ वटा ट्याङ्कर र १ वटा अतिरिक्त वारुणयन्त्र पठाउने तयारी भइरहेको जनाइएको छ।
मुख्यमन्त्री सिंहले यस्तो संकटमा सबै पक्षलाई सहकार्यको आवश्यकता रहेको बताए। “यो संकट केवल एक तहको होइन, सबै तहको साझा चुनौती हो,” उनले भने, “स्थानीय तह, प्रदेश र संघीय सरकारले मिलेर समाधान खोज्नुपर्छ।”
मधेश प्रदेश सरकारले यो अभियानलाई केवल अस्थायी राहत नभई समस्याको दिगो समाधानको सुरुआतको रूपमा हेरेको छ। पानीको वितरणसहित जनचेतना, दीर्घकालीन जल स्रोत व्यवस्थापन र अवलम्बन योजनाहरू पनि तत्काल अघि बढाइने संकेत मुख्यमन्त्रीले दिएका छन्।