मन्त्री बनाउन रास्वपाका मोहनजंग थापाले तीन करोड मागेको ढाकाकुमारको खुलासा
काठमाडौं, २६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठले आफूलाई मन्त्री बनाउनका लागि भन्दै केन्द्रीय सदस्य मोहनजंग थापाले तीन करोड रकम मागेको खुलाएका छन् । समानुपातिकबाट सांसद बनेका श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ रकम मागेको अडियो सार्वजनिक भएको थियो । सोही अडियोका कारण उनलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।
श्रेष्ठले आफू मन्त्री लागेको तर त्यसका लागि ‘कोर टिम’का लागि दुई करोड चाहिने बताउँदै श्रेष्ठले प्रसाईंसँग कुराकानी गरेको अडियो संवादमा खुलेको थियो । सोही ‘कोर टिम’का सदस्यमध्येका एक मोहनजंग थापाले नै आफूसँग तीन करोड रुपैयाँ मागेको श्रेष्ठको दाबी छ ।
स्पेस फोर के टेलिभिजनसँगको संवादमा उनले श्रेष्ठले तीन करोड मागे पनि साढे दुई करोडमा डिल भएको खुलासा गरेका हुन ।