Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

सुस्ताएको कर्जा माग बढ्न थाल्यो, भदौमा मात्र ४४ अर्ब १५ करोड कर्जा लगानी

सुस्ताएको कर्जा माग बढ्न थाल्यो, भदौमा मात्र ४४ अर्ब १५ करोड कर्जा लगानी

काठमाडौं, ३ असोज । वैशाखदेखि साउनसम्म करिब ठप्प जस्तै रहेको कर्जाको माग भदौ लागेपछि बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार भदौमा ४४ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यो गत वर्षको भदौको भन्दा दोब्बर हो । गत वर्ष भदौमा २२ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

ब्याजदर महँगो र व्यापार व्यवसाय गर्न सक्ने अवस्था नभएको भन्दै व्यवसायीहरुले २०७८ माघदेखि कर्जा माग गर्न छोडेका थिए । त्यसयताका समय कर्जा प्रवाह सुस्ताएको थियो । आव २०७७/७८ मा निजी क्षेत्रमा प्रवाहित कर्जा अघिल्लो प्रतिशतभन्दा २७.३ प्रतिशतले बढेको थियो । तर, आर्थिक वर्ष २०७८/७९ मा जम्मा १३.१ प्रतिशतले मात्र बढ्यो ।

आव २०७८/७९ को पनि पहिलो ६ महिनामा ५ खर्ब ६ अर्ब कर्जा प्रवाह भएको थियो भने बाँकी ६ महिना अर्थात् माघदेखि असारसम्ममा जम्मा ३३ अर्ब कर्जा प्रवाह भएको थियो ।

गत वर्षभरी नै कर्जा प्रवाह निक्कै सुस्तायो । वर्षभरमा जम्मा १ खर्ब ५७ अर्ब २८ करोड रुपैयाँ मात्र कर्जा प्रवाह भयो । कर्जा वृद्धिदर ३.४२ प्रतिशतमा सीमित भयो । २०७९ असारसम्म वित्तीय क्षेत्रको कर्जा प्रवाह ४६ खर्ब ९७ अर्ब ६३ करोड थियो भने २०८० असारमा ४८ खर्ब ५४ अर्ब ९१ करोड रुपैयाँ पुगेको थियो ।

२०७९ साउनमा जम्मा २ अर्ब ५७ करोड कर्जा प्रवाह भएको थियो भने २०८० साउनमा ४ अर्ब ४४ करोड कर्जा प्रवाह भएको थियो । भदौ लागेपछि भने कर्जा प्रवाहमा उत्साह बढेको छ । २०८० साउनसम्म ४८ खर्ब ५९ अर्ब ३५ करोड रहेको वित्तीय क्षेत्रको कर्जा प्रवाह भदौ मसान्तसम्म ४९ खर्ब ३ अर्ब ५० करोड पुगेको छ ।

भदौ लागेपछि एलसी खोल्ने क्रम पनि बढेको बैंकरहरुले बताएका छन् । तर, अघिल्ला वर्षहरुको तुलनामा निकै कम मात्र एलसी खुलेको छ । २०७९ भदौमा भन्दा चाहिँ एलसी खुल्ने क्रम पनि बढेको र कर्जाको माग पनि बढेको छ ।

कर्जा प्रवाह सुस्त भएपछि दबाबमा परेका बैंकहरु उत्पादनमूलक क्षेत्रलाई चलायनमान बनाउने भन्दै घर कर्जामा केन्द्रित भएका छन् । घर कर्जाले इँटा, बालुवा, ढुंगादेखि सिमेन्ट, रड, स्टिल र काठ उद्योगसमेतको व्यापार व्यवसाय बढाउने बैंकर्सको भनाइ छ ।

विद्युतीय सवारी साधन कर्जाका लागि पनि बैंकहरुले विभिन्न स्किम ल्याएका छन् । अधिकांश बैंकले घर कर्जामा केन्द्रित भएर कर्जा योजना सार्वजनिक गरेका छन् । कतिपयले आधार दरमा कम मात्र प्रिमियम थपेर त कतिपयले फिक्स्ड दरमा कर्जा योजना ल्याएका छन् । परिणामतः विस्तारै कर्जा प्रवाह बढ्न थालेको नेपाल बैंकर्स संघले जनाएको छ ।

गत वर्ष कर्जा प्रवाह जम्मा ३.४२ प्रतिशतले बढेको थियो । सरकारले अर्थतन्त्र चलायमान बनाउन भन्दै वर्गीकरण नसकिए पनि घरजग्गा कारोबार खुला गरेको छ । गत वर्ष कर्जाको मागमा सुस्तताका कारण दबाबमा परेका बैंकहरुले अहिले कर्जा प्रवाह बढाउन उपाय खोजिरहेका छन् । भदौ ३१ सम्म बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम झन्डै सवा ४ खर्ब छ । यसमध्येको ६३ अर्ब रुपैयाँ स्थानीय तहको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x