Date

बुध, कार्तिक १४, २०८१
Wed, October 30, 2024

असोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक क्रियाकलाप बढाउने अपेक्षा

असोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक क्रियाकलाप बढाउने अपेक्षा

काठमाडौं, ४ असोज । संघीय राजधानी काठमाडौंको भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स २०२३) को आयोजना हुने भएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले एक्स्पोको तयारी तिब्र पारिएको जानकारी दिएको हो ।

नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए)ले असोज १० देखि १४ गतेसम्म (तदनुसार सेप्टेम्बर २७ देखि अक्टूबर १ सम्म) एक्स्पो आयोजना हुने जानकारी दिएको हो । यसअघि नै आयोजकले फर्नेक्सको इभेण्ट लञ्च गरी बोलकबोलमा अधिकांश स्टल बुकिङ गराएको थियो । पहिले आउनेलाई पहिलो प्राथमिकताका आधारमा स्टल बुकिङ खुल्ला गरिएकोमा एकाध बाहेकका सबै स्टल बुकिङ भईसकेको एशोसिएशनले जनाएको छ ।

नेपालको फर्निचर तथा फर्निसिङ बजारको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्धेश्यका साथ एक्स्पो आयोजना गरिएको संघका अध्यक्ष दिनेश अग्रवालले बताए । “आर्थिक गतिविधिहरु सुस्त भइरहेका बेला एक्स्पोले बजारमा आर्थिक कृयाकलाप चलायमान बनाउन सघाउने विश्वास लिएका छौं,” अध्यक्ष अग्रवालले भने ।

मुलुकलाई फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर बनाउन संघले पहलकदमी लिंदै आएको एक्स्पोका संयोजक निकुञ्ज अग्रवालले बताए । हरेक वर्ष आयोजना भइरहेको फर्नेक्सले यो अभियानलाई सहयोग गरिरहेको भए पनि पछिल्ला दिनमा सरकारले गरेको नयाँ व्यवस्थाका कारण स्वदेशी उत्पादनको बजार बिस्तार चुनौतीपूर्ण भएको अग्रवालको भनाई छ । “अर्थतन्त्र कमजोर अवस्थामा रहेका बेला स्वदेशी मुद्रा बाहिरिनबाट रोक्नुपर्नेमा सरकारले वन नियमावलीमा निजी क्षेत्रलाई निषेध गर्दा आयातित वस्तुको मात्र बढ्ने हो कि भन्ने चिन्ता एशोसिएशनलाई लागेको छ,” अग्रवालले भने, “एक्स्पो आयोजना हुँदैगर्दा सरकारलाई निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्न एशोसिएशन आग्रह गर्दछ ।”

एक्स्पोमा १०० भन्दा बढी स्टलहरु रहने एक्स्पोमा मुख्यतया फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिनेछ । एक्स्पोले राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्रान्डहरुलाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्तासम्म पुग्न लागि सहज मार्ग निर्देशन गर्ने एशोसिएशनका महासचिव सञ्जय लामाले बताए । “ग्राहकहरुलाई एउटै प्लेटफर्ममा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीद्धारा उत्पादित विभिन्न सामाग्रीहरु उपलब्ध गराउन यो एक्स्पो महत्वपुर्ण हुने विश्वास लिएका छौं,” महासचिव लामाले भने ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x