प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै सोनापुर मिनरल्स्, कहिलेदेखि आवेदन दिन सकिन्छ ?

काठमाडौं, ५ असोज । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले असोज १४ गतेदेखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपश्चात् सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणका लागि ९७ लाख ३२ हजार ५४४ कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा असोज १७ गते हुनेछ । तर, उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असोज २८ गतेसम्म समय थप हुने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ करोड २३ लाख २०० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये पहिलो चरणमा कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानिय बासिन्दाहरुका लागि अंकित मूल्यमा १२५ रुपेयाँ प्रिमियम थप गरी प्रतिशेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता शेयर निष्कासन गरेको थियो ।
त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १२ लाख १६ हजार ५६८ कित्ता , सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीहरुका लागि ६ लाख ८ हजार २८४ कित्ता बाँडफाँट गरिसकेको छ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वास्तविक विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ शून्य १ पैसा रहेको छ । यो उद्योग दाङको तुलसिपुर उपमहानगरपालिका वडा नं. १८ मा रहेको छ । उत्पादन सुरू २०६९ देखि गरेको कम्पनीले जानकारी दिएको छ ।