दुई महिनामा युुक्रेनबाट दुई अर्ब ८१ करोडभन्दा बढीको आयात, यी हुन नेपालसँग व्यापार घाटा बढी भएका १० देश

काठमाडौं, ८ असोज । नेपालबाट विदेश निर्यात गर्ने सामान उत्पादन नभएपछि व्यापार घाटा बढ्दै गएको छ । विदेशबाट नेपालमा सामान आयात गरेर आवश्यकता पुरा गर्नुपर्ने बाध्यता बढ्दै गएपछि व्यापार घाटा चुलिँदै गएको हो ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को भदौ महिनासम्म देशको व्यापार घाटा दुई खर्ब ३३ अर्ब ३० करोड रुपैयाँ रहेको छ । उक्त अवधिका देशमा दुई खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँको बस्तु तथा सेवा आयात हुँदा २६ अर्ब ४४ करोड ७० लाख रुपैयाँको बस्तु तथा सेवा निर्यात भएको छ ।
विभागका अनुसार नेपालमा सबैभन्दा बढी आयात भारतबाट भएको छ । त्यस्तै सबैभन्दा बढी निर्यात पनि भारतमा नै भएको छ । नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार देश भारत नै हो । भारतसँग नेपालको व्यापार घाटा एक खर्ब ४४ अर्ब दुई करोड रुपैयाँ रहेको छ ।
निर्यातको हिसाबले सबैभन्दा बढी निर्यात हुने दोस्रो देशमा अमेरिका रहेको छ । भदौसम्म अमेरिकामा नेपालबाट तीन अर्ब ३६ करोड ७४ लाख रुपैयाँको निर्यात भएको छ । आयात भने यो देशबाट दुई अर्ब २२ करोड ६ लाख रुपैयाँ भएको छ ।
तर, आयात बढी हुने दोस्रो देश चीन हो । चीनमा भदौ मसान्तसम्म आयात ४६ अर्ब ५४ करोड ३२ लाख रुपैयाँको आयात भएको छ । उक्त अवधिमा ५४ करोड ३३ लाख रुपैयाँको बस्तु तथा सेवा नियात भएको छ । चीनसँग नेपालको व्यापार घाटा ४५ अर्ब ९९ करोड ९८ लाख रुपैयाँ रहेको छ । चीनबाट नेपालमा फलफूल तथा तरकारी समेत आयात हुने गरेको छ ।
युक्रेनबाट भने नेपालमा आयात मात्र हुने गरेको छ । यो देशमा नेपालले चालु आर्थिक वर्षको भदौ महिनासम्म केही पनि निर्यात गरेको छैन । नेपालमा युक्रेनबाट खाद्य बस्तु बढी आयात हुने गरेको छ ।