१५ कम्पनी रू. २ अर्ब ७९ करोडभन्दा बढीको आईपिओ निष्कासनको तयारीमा

काठमाडौं, ८ असोज । धितोपत्र बजारमा १५ कम्पनी सर्वसाधारण शेयर (आईपीओ) निष्कासनको तयारीमा रहेका छन् । उक्त संख्यामा कम्पनीहरुले २ अर्ब ७९ करोड ६९ लाख रुपैयाँ बराबरको ६४ लाख ९३ हजारभन्दा बढी कित्ता आइपीओ ल्याउन लागेका हुन् । यसका लागि अनुमति माग्दै कम्पनीहरुले विभिन्न मितिमा नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका छन् ।
आइपीओका लागि निवेदन दिएका कम्पनीहरुमा अधिकांश जलविद्युत् सम्बन्धी छन् । सेबोनका अनुसार ऊर्जाका मात्रै ५ ओटा कम्पनी छन् । जसमा हिमस्टार ऊर्जा कम्पनी, भुजुङ हाइड्रोपावर लिमिटेड, सान्भी इनर्जी लिमिटेड र सानिमा हाइड्रोपावर लिमिटेड रहेका छन् । आईपीओको तयारी गरिरहेका ऊर्जाबाहेकका कम्पनीहरुमा भने डिस मिडिया नेटवर्क लिमिटेड, आईएमई लिमिटेड, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, सर्वोत्तम सिमेन्ट लिमिटेड, एकर्ड फर्मास्युटिकल्स लिमिटेड, नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेड, ट्रेड टावर लिमिटेड र कान्तिपुर टेलिभिजन नेटवर्क रहेका छन् ।
कम्पनीहरुले दिएका निवेदन उपर आवश्यक समीक्षा, टिप्पणीपश्चात् योग्य देखिएमा सेबोनले आईपीओ निष्कासनका लागि अनुमति दिनेछ । त्यसपछि कम्पनीहरुको आईपीओ सर्वसाधारणका लागि जारी गरिन्छ ।