अपेक्षित एफडीआई भित्रन नसक्नुको कारण खोजौं : अध्यक्ष ढकाल

काठमाडौं, ८ असोज । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) अपेक्षित रुपमा आउन नसक्नुको कारण खोजेर समाधान गर्नुपर्ने औंल्याएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको अवसरमा आइतवार नेपाल उद्योग वाणिज्य महासंघ र चिनियाँ उद्योगी व्यवसायीको संस्था सिसिपिआइटीद्वारा आयोजित बिजनेश समिटलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो नेपालले ठूलो एफडीआई भित्र्याउन नसकेको बताएका हुन् ।
‘म जहिले पनि जुनसुकै काम गर्न पनि सकिन्छ, सम्भव छ भनेर सकारात्मक सोच राख्ने मान्छे हुँ, हुन त नेपालमा सरकारले आग्रह गरे जसरी तथा हामीले नै निजी क्षेत्रका तर्फबाट गर्ने गरेका प्रयासअनुरुप नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सकिएको छैन । तर पनि तीन महिनायताका हाम्रा विशाल छिमेकीमाझ हामीले गरेका यी प्रयासको प्रतिफल पक्कै पनि राम्रै प्राप्त हुनेछ । उहाँहरुलाई नेपालमा लगानी गर्न हामीले आग्रह गरेका मात्रै छैनौँ, नेपालमा लगानी गरे मुनाफा प्राप्त हुन्छ भनेर आश्वस्त पनि पारेका छौं,’ उनले भने ।
चिनियाँ लगानीका लागि नेपाल पनि एक विश्वासिलो र अधिक सम्भावनायुक्त गन्तव्य हो भन्ने कुराको पूर्ण विश्वास नेपालले यहाँका लगानीकर्तालाई गराउन सक्नुपर्ने उनको धारणा छ । नेपालमा नीतिगतरुपमा त कुनै समस्या छैन तर पनि विदेशी लगानीकर्तालाई देशभित्रै कतिपय अवरोध खडा नगरी सहज, सरल र स्वागतयोग्य वातावरण निर्माण गर्नु जरुरी रहेको उनले बताए ।
नेपालमा वैदेशिक लगानी अपेक्षित भित्रिन नसक्नुका कारण यथार्थपरक रुपमा खोज्नुपर्नेमा उनको जोड छ । नेपालमा लगानीको प्रतिबद्धता सुरुमा धेरै आए पनि त्यसअनुरुप नभएर निकै थोरै मात्रामा मात्र प्रत्यक्ष वैदेशिक लगानी आउने गरेकाले देशभित्रै विदेशी लगानीकर्तालाई उचित वातावरण दिन नसकिएको हो या उनीहरुले आफ्नो लगानीको के कस्तो प्रकारको सुरक्षा खोजेका हुन् भन्ने विषयको अनुसन्धान हुनुपर्ने अध्यक्ष ढकालको भनाइ छ ।
अध्यक्ष ढकालले चिनियाँ लगानीकर्ताका लागि नेपाल उचित गन्तव्य भएको बताए । चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदार मुलुक रहेको तर पनि चीनतर्फ नेपालको निर्यात अत्यन्त न्यून रहेकाले आगामी दिनमा नेपालको निर्यात बढाउन र यसका लागि चिनियाँ लगानीकर्तालाई बढीभन्दा बढी मात्रामा आकर्षित गर्न अब केही गर्नुपर्ने उनको धारणा थियो ।
नेपालमा हाल लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीले राम्रो प्रतिफल प्राप्त गरिरहेको अवस्थाको अध्ययन गरेर आगामी दिनमा विदेशी लगानीकर्तालाई आकर्षित गर्नुपर्ने दृष्टान्त पनि उनले सो सम्मेलनमा पेश गरेका थिए ।
सोही समारोहमा आइएमइ ग्रुप र चीनको सिएएमसिइ कम्पनीबीच नेपालमा एकीकृत पर्यटकीय गन्तव्य निर्माण गर्ने विषयमा सम्झौता पनि भएको थियो । सोही समिटमा आइएमइ ग्रूपको अध्यक्षका हैसियतले ढकाल र चिनियाँ कम्पनीका प्रतिनिधिबीच संयुक्त लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
सो सम्मेलनमा सहभागी चिनियाँ वाणिज्य उपमन्त्री लि फेइले नेपालमा लागनीका क्षेत्र पहिचान गर्ने मात्र नभई ती क्षेत्रमा लगानीको सुनिश्चितताका लागि चीन र नेपालका उद्योगी व्यवसायीले सामूहिक पहल थाल्नुपर्ने बताए । सदियौँ पुरानो सम्बन्ध रहेका चीन र नेपाल असल छिमेकी पनि रहेकाले चीन सदैव नेपालको आर्थिक विकास र समृद्धिको पक्षमा रहेको बताए ।