कुल निर्जीवन बीमालेखमा बागमती प्रदेशमा मात्रै ४७ प्रतिशत जारी
काठमाडौं, १५ असोज । चालू आर्थिक वर्षको दोस्रो महिना भदौसम्ममा नेपालमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुबाट कुल ४ लाख ९ हजार ८० बीमालेख जारी भएका छन्, जसमध्ये बागमती प्रदेशमा मात्रै करीब आधा जारी भएका छन् ।
नेपाल बीमा प्राधिकरणको गत भदोसम्मको तथ्यांक अनुसार बागमती प्रदेशमा कुल १ करोड ९३ हजार ६७५ निर्जीवन बीमालेख जारी भएका छन्, जुन कुल निर्जीवन बीमालेखको ४७.३४ प्रतिशत हो । यस्तो बीमालेख धेरै जारी हुने दोस्रो प्रदेशमा लुम्बिनी प्रदेश रहेको छ, जसमा ६३ हजार २२८ ओटा निर्जीवन बीमालेख जारी भएका छन् । यस्तै तेस्रोमा कोशी प्रदेशमा ४८ हजार ६५१ र चौथो स्थानमा रहेको गण्डकी प्रदेशमा ४१ हजार ९२ निर्जीवन बीमालेख जारी भएको प्राधिकरणको तथ्यांकले देखाएको छ ।
सबैभन्दा कम बीमालेख जारी हुने प्रदेश कर्णाली रहेको छ, जसमा ६ हजार ६३३ बीमालेख जारी भएका छन् । अन्य प्रदेशहरु मधेश र सुदूरपश्चिममा क्रमशः ३६ हजार ७६९ र १९ हजार ३२ ओटा बीमालेख जारी भएका छन् ।