सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक मिनि संसदबाट पास, संघीय संसदमा छलफल कहिले ?
काठमाडौं, २५ असोज । कानून, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । मंगलबार समितिलाई उपसिमितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरी बुधबार समितिले पारित गरेको हो ।
उपसमितिले बुझाएको प्रतिवेदनमा उल्लेख भएको सहकारीको विषयमा विधेयकको सहकारी ऐन, २०७४ को दफा ५२ (दफा १८ को उपदफा २ झिक्ने) मा व्यक्तिगत वचतको अधिकतम सीमा २५ लाख हुनेगरी प्रस्ताव भएको विषय हटाउने गरी सहमति भएको समिति सभापति विमला सुवेदीले बताइन् । उनकाअनुसार समितिले क्यासिनो सञ्चालनको सम्बन्धमा विदेशी सीमाबाट ५ किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने कुरा थप गरी पारित गरिएको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन संशोधनमा भएको ढिलाइले नेपाल ‘ग्रे लिष्ट’को जोखिममा रहँदा संशोधनमा निर्णायक भूमिका रहने सांसदहरुमा भने कुनै गम्भीरता नदेखिएको भन्दै चर्को आलोचना भएको थियो ।
सरकारले गत माघ २७ गते संसद्मा लगेको सम्पत्ति शुद्धीकरण(मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक सक्दो चाँडो पारित गर्नुपर्नेमा सांसदहरुले छलफलमै उदासिनता देखाएका थिए । तत्कालीन कानुनमन्त्री ध्रुवबहादुर प्रधानले फागुन ३ गते प्रतिनिधि सभामा विधेयक पेस गरे।
अब संघीय संसदमा कहिलेबाट छलफल प्रारम्भ हुन्छ कुनै आत्तोपत्तो छैन ।