पछिल्लो दुई महिनामा कति रेमिट्यान्स भित्रियो ?
नेपाल राष्ट्र बैंकले आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । जसअन्तर्गत नेपालमा रु २ खर्ब २८ अर्ब रेमिट्यान्स आएको खुलासा भएको छ | आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनाको समीक्षा अवधिमा रेमिट्यान्स प्रवाह २२.१ प्रतिशतले वृद्धि भएर रु २ खर्ब २८ अर्ब ३७ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स प्रवाह १९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स प्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या भने २८.३ प्रतिशतले कमी भएको छ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८.३ प्रतिशतले कमी आई ३२००४ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.६ प्रतिशतले बढेको थियो ।