Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

चितवनको राप्तीमा सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइँदै

चितवनको राप्तीमा सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइँदै

चितवन, १६ कात्तिक । चितवनको राप्ती नगरपालिका–५ भण्डारा बजारमा सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइने भएका छन् । सिँचाइ विभाग र हुलाकको नाममा रहेको उक्त जग्गामा २०५० सालदेखि घरटहरा निर्माण गरिएका थिए ।

राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार त्यहाँ बसोबास गर्दैआएकालाई घरटहरा हटाउन तीन महिनाको समय दिइएको थियो । सो म्याद आज सकिँदैछ । “शुक्रबारदेखि घरटहरा भत्काउन थाल्छौँ”, उनले भने । उक्त ठाउँमा सिँचाइ विभागको दुई बिघा १० कट्ठा तथा हुलाकको पाँच कट्ठा जग्गा छ । विसं २०५० मा राप्ती नदीको बाढीले घरवारविहीन बनाएका परिवारलाई त्यहाँ राखिएको थियो ।

प्रमुख लामाका अनुसार १७ परिवार मात्रै भूमिहीन रहेका छन् । उनीहरुलाई विकल्प दिएर खाली गर्न लागिएको उनको भनाइ छ । भूमिहीनलाई राप्ती–७ मा जग्गा दिनका लागि राष्ट्रिय भूमि आयोगसँग छलफल गरिएको प्रमुख लामा बताउछन् । उनले सो ठाउँमा घर बनाउनका लागि नगरपालिकाले रु एक करोड बजेट विनियोजन गरेको बताए।

सो ठाउँमा अधिकांश थारु समुदायको बसोबास रहेको छ । थारु कल्याणकारिणी सभा चितवनले थारु समुदायको घर नभत्काउन आग्रह गरेको छ । सभाले विज्ञप्ति जारी गरी बिना विकल्प घर भत्काउन अगुवाइ नगर्न नगरपालिका र दलहरुलाई आग्रह गरेको छ । थाकस चितवनका सभापति ललित चौधरी र सचिव सन्तुकमार चौधरीले विज्ञप्ति जारी गर्दै विकल्प खोजेर मात्र जग्गा खाली गराउन आग्रह गरेका छन् ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x